वीरगन्ज,पर्साको पर्सागढी नगरपालिकामा एक महिलामाथि छुरा प्रहार भएको । पर्सागढी नगरपालिका वडा नम्बर ३ पकडिया बडनिहारस्थित मुसहर टोलमा बस्दै आएकी ४० वर्षीय लक्ष्मिनिया देवी चौधरीमाथि आइतबार बिहान छुरा प्रहार भएको हो । बिहान ३ बजेको समयमा २÷३ जनाको समूहले चौधरीमाथि छुरा प्रहार गरेको थियो । आक्रमणपछि चौधरीले सहयोगका लागि हारगुहार गरेपछि आक्रमणकारीहरु फरार भएका थिए । चौधरीको छाती, टाउको र पाखुरालगायत शरीरका विभिन्न भागमा छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनको अहिले वीरगन्जको पानी ट्याङ्कीस्थित एल नियुरो अस्पतालमा उपचार भइहेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिनुभयो । घाइते महिलाको अवस्था अहिले सामान्य छ ।
चौधरीमाथि छुरा प्रहार गरेको आरोपमा प्रहरीले दुई जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना १७ बर्षीय बालकसमेत रहेको डिएसपी खनालले बताउनुभयो । घटनाको अनुसन्धान चलिरहेको र पिडीतसँग बयान लिन बाँकी रहेकोले आरोपीहरुको पहिचान खुलाउँन नमिल्ने खनालले बताउनुभयो । चौधरी आफ्नो घरमा एक्लै बस्दै आएकी छन् ।