नरेश गुप्ता,
बरियारपुर,बाराको सिम्रौनगढमा प्रहरीले चलाएको गोली लागेर बुधवार राति एक जना गाँजा तस्करको मृत्यु भएको छ भने अर्का एकजना तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालबाट भारततर्फ लागूऔषध गाँजा तस्करी भइरहेको सूचना पाएपछि निगरानी गरेर बसेको प्रहरी टोलीमाथि तस्करहरुले उल्दै आक्रमण गरेपछि प्रहरीले चलाएको गोली लागेर तस्कर समूहका भारत बिहारको मोतिहारी जिल्लाअन्तर्गत घोडासहनका ३५ वर्षीय लखिन्द्र महतो कहारको मृत्यु भएको सिम्रौनगढ ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक सुवेदीले जानकारी दिनुभयो ।
गोली लागेपछि उपचारका लागि जिल्ला सदरमुकाम कलैया लैजाँदै गर्दा बाटामै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको ढाडभन्दा तल गोली लागेको छ । उनको साथबाट मोबाइलसमेत बरामद गरिएको छ ।
बाराको सिमावर्ती सिम्रौनगढ नगरपालिका वडा नम्बर २ मौवाही बनकट्टी चौरीको चोकमा घटना भएको हो । घटनास्थलबाट नेपाल–भारत सिमाना डेढ किलोमिटर टाढा पर्छ । प्रहरीले मृतककै गाउँ नजिकका पिप्रा ग्राम– ४ का अर्का ४० वर्षीय हृदेश गिरीलाई भने नियन्त्रणमा लिइएको छ । उनीहरूको साथबाट पोका बनाई राखिएको ७५ केजी गाँजासमेत बरामद गरिएको प्रहरीले बताएको छ ।
तस्कर समूहका अन्य ६÷७ जना फरार भएको उहाँले जानकारी दिनुभयो । तस्करीको सूचना पाएपछि सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली त्यहाँ पुगेको थियो । मृतक गाँजाको कारोबार गर्ने साहु र नियन्त्रणमा परेका लखिन्द्र ज्यालादारीमा भरियाको काम गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक सुवेदीले बताउनुभयो ।
सीमा क्षेत्रमा एक वर्षयता लागूऔषधको ओसारपसार बढेको प्रहरीले बताउदै आएको छ । प्रहरीकाअनुसार जिल्लाका विभिन्न स्थानमा हरेक महिनाको चार÷पाँच पटक लागूऔषध बरामदसँगै त्यसका कारोबारी पनि पक्राउ पर्ने गरेकाले सीमा वारि र पारि लागूऔषधको कारोबार बढेको सुरक्षा अधिकारीहरू स्विकारेका छन । नेपाली र भारतीय तस्करहरुको समूहले नेपालको मकवानपुर र धादिङ्ग जिल्लामा उत्पादन भएको गाँजा बाराको निजगढस्थित रतनपुर हुदै सिमापारी भारत पुर्याउदै आएका हुन ।