निजगढ,निजगढ नगरपालिका वडा नम्बर १० लालमा अटोले स्कुटीलाई ठक्कर दिदा स्कुटीमा सवार निजगढ नगरपालिका वडा नम्बर ७ का एक बालिकाको मृत्यु भएको छ । घटनामा थप दुई जना घाइते बनेका छन ।

निजगढस्थित विद्यासागर बोडिङ्ग स्कुलको कक्षा १ मा अध्ययनरत निजगढ नगरपालिका वडा नम्बर ७ माझी टोल बस्ने शेखर पुलामीकी ७ वर्षिय छोरी सियाल उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । बालिकाको मृत्युमा आइतवार स्कुलमा शोक सभाको आयोजना गरिएको थियो ।
अटोको पछि लाल गुम्बातर्फ जादै गरेको बा.प्रदेश ३–०४ प ३९९७ नम्बरको स्कुटीलाई प्रदेश २ ०३–००१ स ३२२ नम्बरको अटोले एक्कासी ठक्कर दिदा स्कुटीमा सवार बालिकासहित स्कुटी चालक चितवनको राप्ति नगरपालिका वडा नम्बर ४ घर भइ हाल निजगढमा डेरा लिएर बस्दै आएका अर्जुन पाठक र बालिकाकी फुपु सलिना पुलामी घाइते भएका थिए । गुम्बाको उकालोमा लोड तान्न नसकेपछि पछाडितर्फ गुडेको अटोले स्कुटीलाई थिचेको थियो ।
घाइते बालकको निजगढस्थित नेशनल मेडिकल कलेजमा उपचार गरिएको र थप उपचारको लागि मेडिकल कलेज भरतपुर पठाइएकोमा चिकित्सकले राति ८.२० बजे बालिकालाई मृत घोषणा गरेका थिए । प्रहरीले टम्पु चालक निजगढ नगरपालिका वडा नम्बर १० बस्ने वर्ष ४५ का अमरराज घिसिङ्ग, स्कुटी चालक पाठक र मृतक बालिकाकी फुपु सलिनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको बताएको छ ।
घटनाको बारेमा घाइते र पिडित पक्षले पनि प्रहरीलाई खबर नगरेपछि आफ्नै पहलमा उनीहरुलाई आइतवार बिहान नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सन्जिब ओलीले जानकारी दिनुभयो । घाइते दुबै जनाको अवस्था सामान्य रहेको निरीक्षक ओलीले बताउनुभयो ।

















