रौतहट,रौतहटबाट स्रोत नखुलेको रु १० लाख चार हजार पाँच सय रुपैयाँ रकम सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहीवार बेलुका गौर नगरपालिका– १ ट्रान्सफर्मर चोकका ३० वर्षीय महम्मद करमान अलिलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
भन्सार सुरक्षा गार्ड रौतहटबाट खटिएको प्रहरी चेकिङ टोलीले भन्सार कार्यालय अगाडि सार्वजनिक सडक खण्डमा चेकिङको क्रममा अलिलाई पक्राउ गरेको हो ।बि आर ०५ एइ ६७०५ नम्बरको भारतीय मोटरसाइकलमा सवार अलिले मोटरसाइकलको सिटमुनि र हेल्मेटमा लुकाएर राखेको रु १० लाख चार हजार पाँच सय रुपैयाँ प्रहरीले बरामद गरेको हो ।
उक्त रकमको श्रोत खुलाउन नसकेकोले प्रहरीले अलिलाई उक्त रकम र मोटरसाइकल सहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि गौर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।

















