धिरेन्द्र तिवारी

कलैया,राष्ट्रिय भूमि आयोग बाराले शुक्रवार कलैयामा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

भूमि आयोगका जिल्ला अध्यक्ष छबिलाल उप्रेतीको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख कृष्ण कटुवालको प्रमुख आतिथ्यतामा जिल्ला समन्वय समिति बाराको सभा हालमा भएको पत्रकार सम्मेलनमा जिल्लाका भूमिहिन दलित भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि जिल्लाका विभिन्न स्थानीय तहमा काम गर्दै आएको समितिका विज्ञ सदस्य केदारप्रसाद गौतमले जानकारी गराउनुएको छ ।

कार्यक्रममा हालसम्म बारा जिल्लामा पहिलो चरणमा आयोगले जीतपुरसिमरा उपमहानगरपालिका, कोल्हबी नगरपालिका, महागढिमाई नगरपालिका, सुवर्ण गाउँपालिका र फेटा गाउँपालिकाहरुसंग सम्झौता गरेर काम गरिरहेको आयोगका अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।

जिल्लामा हालसम्म भूमिहिन दलित सुकुम्बासीहरु मध्ये ४ हजार ५ सय अव्यवस्थित बसोबासीेहरुको २ हजार निवेदन संकलन गरिएको सो अवसरमा जनाइएको थियो ।

त्यसैगरी निजगढ, कोल्हबी र जीतपुरसिमरा उपमहानगरपालिकामा जमिन नापनक्साको काम जारी रहेकोे पनि जानकारी दिइएको थियो । हालसम्म ३ सय बिगहा जति सरकारी ऐलानी र पर्ति जमिनको नापी भइसकेको र बाँकी क्षेत्रहरुमा पनि नापी गर्ने कार्य जारी रहेकोे नापी शाखा बाराका प्रमुख दिपक दासले जानकारी गराउनुभयो ।

केन्द्रीय आयोगबाट जीतपुरसिमरा उपमहानगरपालिका, महागढिमाई नगरपालिका, सुवर्ण गाउँपालिका र फेटा गाउँपालिकामा भूमिहिन दलित भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई कार्यालयमा ३५ भित्र निवेदन दिन सूचना जारी गरिसकेको छ ।

बिगतका आयोगहरुबाट वितरण गरिएका जग्गाहरुको हकमा पनि दर्ता स्रेस्ता र नाक्सा सम्बन्धि समस्याहरु देखिएकोले केन्द्रबाट सो सम्बन्धि ३५ दिने निवेदन दिन समेत सूचना जारी गरिसकिएको बताइएको छ ।

कार्यक्रममा पचरौताका नगरपालिकाका प्रमुख जलान्धर सिंह, सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख होबिन्द्र बोगटी, राष्ट्रिय भुमि आयोगकी जिल्ला सदस्य कालावती देबी पासवानलगायत जिल्लाका संचारकर्मीहरुको पनि सहभागीता थियो ।

Leave a Reply