रौतहट,रौतहट जिल्लाको गरुडा नगरपालिकाका नगर प्रमुखसहित ३० जनाको टोली भारतको धार्मिक भ्रमणमा हिँडेपछि नगरपालिकाको दैनिक कामकाजमा समस्या उत्पन्न भएको छ ।नगर प्रमुख कन्थमणी प्रसाद कलवार, उपप्रमुख पुनमकुमारी चौधरी, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगर परिषद् सदस्यहरूसहित तीन दर्जनको टोली भ्रमणमा हिँडेपछि कार्यालयको दैनिक कामकाजमा प्रभावित भएको गरुडाका सेवाग्राही दीनानाथ सहनीले गुनासो गर्नुभयो । नगरपालिका र वडा कार्यालयमा जनप्रतिनिधिहरू नै नभएपछि कार्यालयको सेवा प्रवाहमा समस्या भएको उहाँको भनाई रहेको छ । नगरपालिकामा विभिन्न कामले आउने सेवाग्राही यति बेला नगरपालिकाबाट रित्तो हात फर्कन बाध्य भएको उहाँले बताउनुभयो । जनप्रतिनिधि नभएपछि नगरपालिकाको प्राविधिक, स्वास्थ्य, कृषि, पशु, सामाजिक सुरक्षा, महिला विकास लगायत शाखाका कर्मचारीहरू समेत मोबाइल चलाएर दिन बिताउन थालेका छन ।

गरुडा नगरपालिका प्रमुख कन्थमणि कलवार सहित नगरको टोली भारतको विभिन्न धार्मिक तीर्थस्थल भ्रमणका लागि ६ लाख खर्च गरेर भारतको अयोध्यासम्म पुग्न लागेको स्रोतको भनाई रहेको छ । राम नवमी पर्व परेर नगरप्रमुख कलवारले कार्यपालिकाका असन्तुष्ट पक्षलाई तीर्थस्थलको भ्रमण गराएर खुसी पार्न खोजेको आरोप स्थानीयको रहेको छ ।लामो समयदेखि नगर प्रमुखविरुद्ध आन्दोलनमा उत्रिनुभएकी उपप्रमुख पनि सहमति भएपछि प्रमुखसंगै भ्रमणमा निस्किनुभएको हो । उपप्रमुख पुनमकुमारी चौधरीले नगर प्रमुखले नगरपालिकाको रकम हिनामिना गरेको भन्दै केही समयपहिला नगरपालिकाको मूल गेटमा ताला लगाएर धर्नामा बस्नुभएको थियो ।अहिले नगरपालिकाका सबै जनप्रतिनिधि धार्मिक भ्रमणको नाममा भारत तिर लागेपछि गरुडा नगरपालिकाको कार्यालय सुनसान बनेकोे छ । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी भ्रमणका लागि जिल्ला बाहिरमात्र नभई छिमेकी मुलुक भारतमा पुगेका हुन ।उनीहरू तीर्थयात्रा भनी भारतको हरिद्वार, अयोध्या लगायतका ठाउँमा तीर्थाटन गर्ने योजना रहेको भ्रमण दलका एक सदस्यले बताए ।

Leave a Reply