जनकपुरधाम,
मधेस प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री तथा सांसदहरूको सेवासुविधा बढाएको छ । गएको साउन २३ गतेको मन्त्रिपरिषद् निर्णय अनुसार ५ भदौमा प्रदेश राजपत्रमा नयाँ तलबमान सार्वजनिक गरिएका छन्।

आर्थिक सङ्कट बढ्दै जाँदा सरकारले व्ययभार बढ्ने गरी मन्त्री र सांसदहरूको सुविधा थपेको र मधेसका मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को अनुसूचीलाई हेरफेर गरेर प्रदेश सरकारले सेवासुविधामा वृद्धि गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बहालवाला मुख्यमन्त्री, मन्त्री, प्रदेश सभाका पदाधिकारी, सांसद र प्रदेश नीति आयोगका उपाध्यक्ष तथा सदस्यको तलबमा दुई हजार रुपैयाँका दरले वृद्धि गरिएको छ ।

मुख्यमन्त्री र मन्त्रीका पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७५ को अनुसूची (१) को १ मा पारिश्रमिक प्रतिमहिना दुई हजार थप गर्ने र गाडीको इन्धनको इकाई दरमा ‘लिटर’ शब्दको पछाडि ‘प्रतिमोटर’ शब्द थप गरी सुविधा उपलब्ध गराउने निर्णय गरिएको हो । कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमा प्रदेश राजपत्र प्रकाशित गरेको र जसअनुसार अब मधेस प्रदेशका मुख्यमन्त्रीले प्रतिमहिना ६२ हजार ९ सय ७० रुपैयाँ तलब पाउनेछन्।

त्यस्तै मन्त्रीले ५९ हजार ७ सय ८०, राज्यमन्त्रीले ५८ हजार ४ सय ९० र सहायक मन्त्रीले ५५ हजार तलब पाउने भएका हुन् । मुख्यमन्त्रीलाई विगतमा प्रतिमहिना तीन सय लिटर इन्धन प्रदान गर्दै आएकामा अब प्रतिगाडी तीनसय लिटर इन्धन पाउनेगरी मन्त्रिपरिषदबाट निर्णय गरिएका छन् । यसअघि मन्त्रीले प्रतिमहिना २ सय ५०, राज्यमन्त्रीले २ सय २५ र सहायक मन्त्रीले २ सय लिटर सवारी इन्धन पाउँदै आएको थियो ।

प्रदेश सभाका पदाधिकारी र सांसदकोसमेत दुई हजार रुपैयाँ तलब र सेवासुविधा वृद्धि भएको र प्रदेश सभामुखले अब प्रतिमहिना ६१ हजार, उपसभामुख, विपक्षी दलको नेता, सत्तापक्षका सचेतकले ५९ हजार ७ सय ८०, दलको नेता, सत्तापक्षका प्रमुख सचेतक, विपक्षी दलका प्रमुख सचेतक र सभापतिले ५८ हजार ४ सय ९० रुपैयाँ, दलका प्रमुख सचेतक र सचेतकले ५५ हजार र सदस्यले ५४ हजार ६ सय रुपैयाँ तलब पाउनेछन् ।

प्रदेश नीति आयोगका उपाध्यक्षले ५६ हजार ४ सय ९० र सदस्यले ५३ हजार रुपैयाँ तलब पाउँदै आएकामा अब उनीहरूको तलब क्रमशः प्रदेश राज्यमन्त्री तथा प्रदेश सहायकमन्त्रीसरह प्रदान गरिने मुख्यमन्त्री कार्यालयका सचिव शिवनाथ पौडेलले जानकारी दिनुभयो । सचिव पौडेलले बढ्दो महँगीका बीचमा सबैको पारिश्रमिक तथा सेवासुविधामा सामान्य हेरफेर गरिएको जानकारी दिनुभयो ।

Leave a Reply