कलैया,अश्लील भिडियो बनाएर एक महिलालाई बदनाम गर्ने चार जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।
अश्लील भिडियोमा काम गर्ने स्थानीय एक महिला नै भएको दाबी गर्दै निराधार प्रचार गरी महिलाको चरित्र हत्या गर्ने ती व्यक्तिहरुलाई बारा प्रहरीले कलैया बजारबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कलैया उपमहानगरपालिका वडा नम्बर १ बस्ने करिब २६ वर्षिय अजयकुमार सर्राफ, २८ वर्षिय विकास सर्राफ, ३२ वर्षिय रमेशकुमार साह र वडा नम्बर ३ का मैनुल्लाह अंसारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
उनीहरुले अश्लील (पोर्न) भिडियोमा काम गर्ने भारतीय महिला अञ्जली अरोराको भिडियोलाई गाउँघरमा एक स्थानीय महिला कै भिडियो हो भन्दै हल्ला फिजाएर उनको बदनाम गर्दै हिडेका थिए ।
महिलाले दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाराले चारै जनालाई पक्राउ गरेको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिनुभयो । प्रहरी उपरीक्षक बोगटीले पक्राउ परेकामाथि अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले सामाजिक सञ्जाल लगायत बिभिन्न माध्यमबाट समाजमा हल्ला फिजाउँने छुट कानूनले कसैलाई नदिएका कारण सत्य तथ्य बुझेर मात्र कसैलाई कुनै कुरा भन्न वा सामाजिक सञ्जालमा शेयर गर्न अनुरोध गर्नुभयो । कानूनले बर्जित गरेको त्यस्ता क्रियाकलाप गर्नेलाई कानून बमोजिम कारवाही हँने प्रहरी उपरीक्षक बोगटीले जानकारी दिनुभयो ।