बारा,बाराको आदर्श कोतवाल गाँउपालिका वडा नम्बर ५ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभत विद्यालय टेढाकट्टीको उचित व्यवस्थापन नहुदा बालबालिकाहरु चिसो भुइँमा पलेटी कसेर पढ्न बाध्य भएका छन् ।
विद्यालयमा डेक्स, बेन्च र कक्षा कोठाको अभावमा विद्यार्थीहरु चिसो बरण्डा र चौरममा बसेर पढन बाध्य भएका हुन । आदर्श कोटवाल गाँउपालिकाले विद्यालयको सुधारमा चासो नदेखाएका कारण विद्यालयमा भौतिक सुविधाको अवस्था नाजुक बनेको हो । विद्यालयमा आवश्यक पूर्वाधार तयार पार्न पटक पटक अनुरोध गर्दा पनि गाउँपालिका कार्यालयले सहयोग नगरेको विद्यालयका प्रधानाध्यापक शारदा सिंहले गुनासो गर्नुभयो ।
कक्ष १ देखि कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा ४ सय हाराहारी विद्यार्थी रहेका छन् । विद्यार्थीहरुलाई राखेर पढाउन कक्षा कोठा अपुुग भएपछि विद्यालयले २ देखि ३ वटा कक्षाका विद्यार्थीहरुलाई एउटै कक्षामा राखेर बहुकक्षा संचालन गर्दै आइरहेको छ । जसले विद्यालयको पढाइ केवल औपचारिकतामा मात्र सिमित भएको छ । विद्यालयमा बसेर पढ्ने ठाउ नभएपछि भर्ना भएका मध्ये आधाजस्तो विद्यार्थीहरु अहिले विद्यालयमा आउन छाडेका छन । विद्यालयले बाल विकास कक्षासमेत संचालन गर्न माग गरेको भए पनि गाँउपालिकाले बेवास्ता गरेको प्रधानाध्यापक सिंहको भनाइ छ ।
विशेष गरी दलित, गरिब तथा पिछडिएका समुदायका बालबालिका पढ्ने विद्यालय भएर पनि जनप्रतिनिधिहरुले बेवास्ता गरेको स्थानीयको भनाइ छ । गाउँका हुने खाने र सम्पन्न परिवारका अधिकांश बालबालिकाहरुलाई अभिभावकले शहरी क्षेत्रका र निजी विद्यालयमा पढाउने गरेका छन् ।
पूर्वाधारको अभावमा विद्यालयमा अध्ययन, अध्यापनको उचित वातावरण बन्न नसकेको र यसअघिका जनप्रतिनिधिहरुले विद्यालय सुधारमा ध्यान नदिएकाले विद्यालयको अवस्था नाजुक बनेको आदर्श कोतवाल गाँउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रुपेश नारायण सिंह बताउनुहुन्छ ।
हाल विद्यालयमा जम्मा ४ वटा कोठा मात्र रहेको एउटा मात्र भवन छ । जसमध्ये पनि एउटामा प्रशासनिक कक्ष र अर्को एउटा कोठामा सिमेन्ट, छट जस्ता निमार्णसामाग्री राखिएका छन् । सोही कोठामा विद्यालयको कार्यालय पनि रहेको छ ।
अबको पाँच पर्ष शिक्षामा लगानी गर्ने आदर्श कोतवाल गाँउपालिका प्रमुख जवाहरप्रसाद साहले बताउनुभयो । उहाँले चाडै नै पुरानो र जीर्ण बनेको भवन भत्काएर नयाँ भवन बनाउने पनि बताउनुभयो । उहाँले अब बालबालिकाहरु चिसो भुइँमा बसेर पढ्नु पर्ने समस्याको चाडै समाधान निकाल्ने बताउनुभो ।

















