सिमरा,नेपाल पत्रकार महासंघ बारा शाखा कार्यसमितिका सहसचिव एवंम बाराखबर डट कमका सम्पादक रञ्जन यादवमाथि भएको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघ बारा शाखाले आपत्ति जनाएको छ ।बाराका पत्रकार रञ्जन यादवमाथि शनिवार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ताले दुव्र्यवहार गर्नुका साथै रिपोर्टिङमा प्रयोग गरेको मोबाइल समेत खोसेको घटनाप्रति भ्रत्र्सना गर्दै महासंघले दोषिमाथि कारबाहीको माग गरेको हो ।
नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीले प्रेस विज्ञप्तिमार्फत पत्रकार यादवमाथि भएको सो घटनाले संविधान प्रदत्त प्रेस स्वतन्त्रताको हनन भएको र रक्षाको लागि माग समेत गर्नुभएको छ ।जीतपुर बजारस्थित गौशालामा अतिक्रमण गरी बनाइएको संरचना हटाउने कार्यको समाचार संकलनको क्रममा वडा अध्यक्ष गुप्ताले पत्रकार यादवलाई दुव्र्यवहार गर्नुका साथै रिपोर्टिङमा प्रयोग भएको मोवाइल समेत खोसेको बताइएको छ ।
सुरक्षा निकायको उपस्थितिमै यादवले रिपोर्टिङको लागि प्रयोग गरेको मोवाइल खोस्नुका साथै पत्रकार यादबलाई वडा अध्यक्ष गुप्ताले धम्की पनि दिएको पनि महासंघको भनाई छ ।स्वतन्त्र रुपमा बिना रोकतोक समाचार संकलन गर्न पाउनु पत्रकारको अधिकार भएको हुँदा अपराधिक शैलीमा सञ्चार उपकरण खोस्ने तथा गाली गलौज गर्ने घटना प्रेस स्वतन्त्रता विरुद्ध रहेको संघको विज्ञप्तिमा जनाइएको छ ।महासंघले प्रेस विरोधी घटनाको कडा शब्दमा निन्दा गर्दै घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याएर संविधानप्रदत्त अधिकारको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।
















