वीरगन्ज,उद्योगबाट निस्केको छाई (भुसको खरानी) सिर्सिया नदीमा फाल्ने ३ वटा ट्याक्टरलाई वीरगन्ज महानगरले नियन्त्रणमा लिएर कारबाही गरेको छ ।वीरगन्जको वडा नम्वर २१ मा सिर्सिया नदीमा फोहोर फालिरहेको अवस्थामा फेला परेका ३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको हो ।कारबाहीमा पर्नेमा प्र २–०३–००१ त ४८७, ना १८ त ६८८९ र ना ७ त ५३८९ रहेको महानगरपालिकाले जनाएको छ ।तीनै वटा ट्याक्टरलाई महानगरले बिहान नियन्त्रणमा लिएर बालमन्दिरमा राखेको थियो । तीनै वटै ट्याक्टरका चालकलाई पहिलो पटक १-१ हजार जरिबाना गरेर छाडिएको छ । महानगरपालिकाले सिर्सिया नदी प्रदुषण नियन्त्रण अभियान चलाइरहेको अवस्थामा नदी प्रदुषण गर्ने जो कसैलाई पनि कारबाही गर्ने रणनीति अनुसार नदीमा फोहोर गर्नेलाई बुधवारबाट जरिबाना गर्न सुरु गरेको हो ।नदी प्रदुषण नियन्त्रणका लागि महानगरले समिति नै बनाएर अनुगमनलाई समेत तीव्रता दिएको छ । नदी तटमा रहेका उद्योगहरुले त्यहाँबाट निस्कने फोहोर जथाभावी फालिदिँदा सिर्सिया नदी प्रदुषित हुने गरेको छ । महानगरले उद्योगहरुलाई पनि कारबाही गर्ने तयारी अनुरुप मरियम लेदर सहित ५ वटा उद्योगलाई पत्र नै पठाएर चेतावनी दिएको छ ।यस क्षेत्रमा रहेका उद्योगकै कारण सिर्सिया नदी प्रदुषण हुँदै आएको छ । नियन्त्रणमा लिइएका ट्याक्टरलाई चेतावनी स्वरुप कारबाही गरिएको र आउँदा दिनमा फोहोर पानी सोझै नदीमा मिसाउने उद्योगलाई पनि कारबाही गरिने महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।


















