कलैया । सरकारले सुनचाँदी व्यवसायीमाथि थप विलासिता कर (luxury tax) लगाउने निर्णय गरेपछि बाराका सुनचाँदी व्यवसायी आक्रोशित भएका छन्। उक्त निर्णयको विरोधमा बाराको सुनचाँदी व्यवसायी संघले कलैयामा मोटरसाइकल र्याली निकालेर सरकारको निर्णयप्रति कडा आपत्ति जनाएका छन्।

र्यालीको नेतृत्व संघका अध्यक्ष शिव सोनारले गरेका थिए। र्याली कलैयाको विभिन्न भाग परिक्रमा गर्दै विरोध नारासहित सम्पन्न गरिएको थियो। व्यवसायीहरुले प्लेकार्ड, ब्यानर र नाराजुलुसमार्फत करको पुनरावलोकन गर्न माग गरेका थिए।

अध्यक्ष सोनारले सञ्चारकर्मीसँग कुरा गर्दै भने, “सरकारले हाम्रो व्यवसायप्रति गम्भीर विचार नगरीकन लादेको कर अस्वीकार्य छ। यो करले साना तथा मझौला व्यवसायीहरू सबैभन्दा बढी प्रभावित हुनेछन्। हामी विलासिता वस्तु होइन, परम्परागत र जीविकोपार्जनको आधार बनेको व्यवसाय गरिरहेका छौं।”

उनका अनुसार सरकारले सुन र चाँदीमा ५ देखि १० प्रतिशतसम्म अतिरिक्त कर लगाउने तयारी गरेको छ, जसले बजारमा माग घटाउने, उपभोक्तालाई असर पार्ने र व्यवसायीहरूलाई घाटामा लैजाने खतरा छ।

व्यवसायीहरूको आक्रोश – “हामी विरोधका थप चरणमा जान बाध्य हुनेछौं” । र्यालीमा सहभागी व्यवसायीहरूका अनुसार सरकारले निर्णय फिर्ता लिने पहल नभए आगामी दिनमा थप संघर्षका कार्यक्रम घोषणा गरिनेछ।
“हामी शान्तिपूर्ण तर सशक्त आन्दोलन गर्छौं,” – एक व्यवसायीले सागर विश्वकर्माले जानकारी दिए । र्यालीमा सयौं मोटरसाइकल सहभागी थिए, जसले कलैयाको बजार क्षेत्रमा ट्राफिकमा पनि केही समय अवरोध गर्‍यो। यद्यपि, आन्दोलन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सुनचाँदी व्यापार लामो समयदेखि नेपालको सांस्कृतिक, सामाजिक र आर्थिक पाटोको हिस्सा रहँदै आएको छ। यस्तो अवस्थामा एकतर्फी कर नीतिले व्यवसाय मात्र होइन, आम जनतालाई समेत असर पुर्‍याउने व्यवसायीहरूको धारणा छ।

सरकारले अझैसम्म कर सम्बन्धी स्पष्ट जानकारी नदिएको भए पनि वित्त मन्त्रालयका अधिकारीहरूले भने, “राजस्व वृद्धिका लागि केही विलासिताजन्य वस्तुहरूमा कर समायोजन आवश्यक छ।”

तर व्यवसायीहरूको भनाइ छ –
“हाम्रो सुनचाँदी कुनै विलासिता होइन, संस्कार र संस्कृतिको हिस्सा हो। सरकारले जनभावनाको कदर गर्नुपर्छ।”

Leave a Reply