नरेश गुप्ता

बरियारपुर,नगरसभा हुन नसेपछि बाराको पचरौता नगरपालिकाले करार सेवामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई अवकास दिएको छ । अस्पतालका २ दर्जनभन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारीले एकैपटक अवकास पाएपछि नगरपालिकाको एकमात्र नगर अस्पतालको सेवा मंगलबारबाट बन्द भएको छ । अस्पतालको सेवा बन्द भएपछि नगरपालिकाका सर्वसाधारण मार्कामा परेका छन ।

कायममुकायम प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव तीन सातादेखि सम्पर्कविहीन भएपछि आर्थिक वर्ष ०७९÷०८० को नगरसभा हुन सकेको छैन । नगर परिषद बैठक आयोजना हुन नसक्दा करार सेवामा नियक्त गरिएका स्वास्थ्यकर्मीको म्याद थप गर्न नसकिएको र मंगलवारबाट उनीहरुलाई अवकास दिएको नगर प्रमुख जालन्धर सिंहले बताउनुभयो । नगरप्रमुख सिंहले एउटा सूचना निकालेर स्वास्थ्यकर्मीलाई अवकास दिएको जानकारी दिनुभएको हो । नगर प्रमुख सिंहले मंगलबार एक सूचना प्रकाशित गरी नगर अस्पतालका सबै स्वास्थ्य सेवा, नगरअन्तर्गतका ‘बर्थिङ सेन्टर’ र नगरपालिकाको वडा नम्बर(१ पिपरपातीमा रहेको प्रयोगशालाको सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिएको जानकारी दिनुभएको हो ।

ती सबैमा करारका कर्मचारीले स्वास्थ्य सेवा दिँदै आएको थिए । ‘२३ जना स्वास्थ्यका करारका कर्मचारीमध्ये २२ जनाले म्याद थप नगरिएकोले छोडिसके,’ नगरप्रमुख सिंहले भन्नुभयो, ‘नगरसभा नै नभएपछि करारका कर्मचारीलाई राखिराख्ने कानुनी आधार छैन, त्यसैले कर्मचारी अभावमा नचाहँदा नचाहँदै पनि स्वास्थ्य सेवा बाध्य भएर बन्द गर्नु पर्ने अवस्था आयो ।’

प्रशासकीय अधिकृत नहुँदा बजेटसंगै करारका अन्य कर्मचारीलाई चालु वर्षमा थप्नुपर्ने करार अवधिको म्याद पनि थप हुन नसकेपछि नगरस्तरीय अस्पतालको सम्पूर्ण स्वास्थ्य सेवा मंगलबारदेखि बन्द गरिएको छ । पचरौता नगरपालिकाका नगरसभा हुन नसकेपछि पालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम र बजेट पनि ल्याउन सकेको छैन ।

प्रशासकीय अधिकृत यादव सम्पर्कविहीन भएपछि अर्को अधिकृतका लागि मन्त्रालयमा ५÷६ पटक पत्राचार गरे पनि वास्ता नगरेको नगरप्रमुख सिंहले बताउनुभयो । उहाँका अनुसार सामान्य प्रशासन मन्त्रालयमा पुगेर पटकपटक आग्रह गर्दा पनि नगरपालिकामा मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाउन आनाकानी गर्दै आएको छ । प्रशासकीय अधिकृत नहुँदा कर्मचारीलाई तलब दिन पनि नपाइएको उहाँको भनाइ छ ।

‘कार्यालयका निमित्त प्रमुख यादव सम्पर्क बिहिन हुनुभएको छ, नगर प्रमुख सिंहले भन्नुभयो, मन्त्रालयले दरबन्दी अनुसारको उपसचिव पनि पठाएको छैन ।’ आफै काठमाण्डौं धायर समस्या हल गर्न आग्रह गर्दा पनि नगरपालिकाको समस्याप्रति मन्त्रालयले चासो नदेखाएको नगर प्रमुख सिंहले गुनासो गर्नुभयो ।

उहाँले नगर परिषद नभएपछि नगरको विकास निर्माण कार्यको खर्चसहित शिक्षक, कर्मचारीको मासिक तलब, सर्वसाधारणको सामाजिक सुरक्षा भत्तालगायत सबै काम ठप्प हुने अवस्था आएको बताउनुभयो ।

पालिकामा एमालेका नगर प्रमुख र उपप्रमुख निर्वाचित भए पनि नगर कार्यपालिमा जसपाको बहुमत छ । असार १० देखि १५ गतेभित्र नीति तथा कार्यक्रमसँगै बजेट पास गरिसक्नुपर्ने कानुनी प्रावधान भए पनि पालिकाले बजेट र नीति तथा कर्यक्रम ल्याउन नसकेको हो । बजेट नल्याई अर्को आर्थिक वर्षमा बजेट चलाउन (खर्च) गर्न नपाउने कानुनी व्यवस्था छ ।

गत १५ मा गर्ने भनिएको नगरसभा रोक्न जसपाका जनप्रतिनिधिहरुले रिट दायर गरेका थिए । एक पटक स्थगित भएको सभाको विवाद उच्च अदालत पुगेको थियो । तर अदालतले नगरसभा रोक्न नमिल्ने आदेश गरिसकेको छ ।

केही वडाध्यक्षहरूले बोर्डको बैठक नै नबसी नीति तथा कार्यक्रम ल्याउन खोजेको भन्दै अदालतमा रिट दायर गरेका हुन् । अदालतले भने बजेट र नीति तथा कार्यक्रम रोक्न नमिल्ने भन्दै बजेट ल्याउन आदेश गरिइसकेको छ । नगर प्रमुख सिंहले विषयगत समितिहरू खारेज गर्न भन्दै रिट गरिएकोमा सोविपरीत आदेश आएकोले नगरसभा तयारी गर्न खोज्दा प्रशासकीय अधिकृत सम्पर्कविहीन भएको बताउनुभायो ।

स्थानीयका अनुसार नगरपालिकामा जसपाबाट निर्वाचित कार्यपालिका सदस्य र सोही पार्टीका पूर्वनगर प्रमुख रमेश यादवले नगपालिकामा नेकपा एमालेबाट निर्वाचित प्रमुख सिंहलाई असफल पार्न षडयन्त्र गरेर निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई बेपत्ता पारेको र नयाँ अधिकृतलाई पनि कार्यालयमा आउन पनि अवरोध गरेका हुन ।

Leave a Reply