कलैया,बारामा दुईजना दाजुभाइ मिलेर आफ्नी बहिनीसँग प्रेम सम्बन्ध गास्ने युवकको हत्या गरेका छन।

प्रहरीका अनुसार बहिनीसँग प्रेम सम्बन्धमा रहेको भन्दै दुई जना दाजुभाइले बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर–५ ईटियाही बस्ने २३ वर्षीय राजकुमार ठाकुरको हत्या गरेका हुन ।हत्या गर्ने दुबै सोही गाउँपालिका वडा नम्बर–५ इटियाही टोलकै २८ वर्षीय उत्तम पटेल र निजकै दाजु ३० वर्षीय प्रितम पटेल रहेका छन।

गत साउन २४ गते मृतक ठाकुर ट्युशन पढ्न पर्साको वीरगन्ज महानगरपालिका–१६ नगवातर्फ साइकलमा गएका थिए। त्यसपछि सम्पर्कविहीन भएका उनलाई २७ गते नगवामा टेलर सञ्चालन गरी बस्दै आएका दुबै दाजुभाइले नियन्त्रणमा लिएर हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि शवलाई बोरामा राखेर ना ३८ प ४३९५ नम्बरको मोटरसाइकलमा बोकेर भारतको रक्सौल रेल्वे स्टेशनमा लगि रोकी राखेको मुजफ्फरपुर जाने ट्रेनको शौचालय छेउको खाली स्थानमा छाडेर फर्केको खुल्न आएको प्रहरीले जनाएको छ।

बारा प्रहरीले भारतीय प्रहरीको समन्वयमा भारत विहार,भागलपुरबाट शव बुझेर अनुसन्धान गर्दा हत्या गर्ने दुबै दाजुभाइलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी राजेश थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवै जनाले बहिनीसँग प्रेम सम्बन्ध राखेका कारण ठाकुरको हत्या गरेको स्वीकार समेत गरेको डिएसपी थापाले बताउनुभयो । पक्राउ परेका दुबै जना दाजुभाइलाई अपहरण तथा शरीर बन्धक र ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा अनुसन्धान अघि बढाइएको थापाले जानकारी दिनुभयो ।

हत्या विरोधमा वीरगन्जमा प्रदर्शन 

वीरगन्ज,गाउँका २३ वर्षीय राजकुमार ठाकुरको हत्यामा संलग्नलाई फाँसी दिनुपर्ने माग राखेर बाराको विश्रामपुर गाउँपालिका– ५ ईटियाहीका बासिन्दाले आइतवार वीरगन्जमा प्रदर्शन गरेका छन् ।

गत साउन २५ गते वीरगन्जमा ट्युसन पढ्न गएका राजकुमारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका २८ वर्षीय उत्तम पटेल र ३० वर्षीय प्रितम पटेलका बुवा ६५ वर्षीय कृष्णा राउत कुर्मीलाई पनि पक्राउ गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने र अभियुक्तहरुलाई फाँसीको सजाय दिनुपर्ने माग राखेर मृतकका आफन्त र गाउँलेले जिल्ला प्रहरी कार्यालय पर्सा घेराउको प्रयाससमेत गरेका थिए ।

प्रदर्शनकारीहरुलाई सुरक्षाकर्मीले जिल्ला प्रहरी कार्यालय पर्सा जाने मुख्य सडममै रोकेको थियो । मृतकका बुवामोतिलाल ठाकुरले दिएको किटानी जाहेरीको आधारमा घटनाको गम्भीर ढंगले अनुसन्धान गर्ने प्रहरीले आश्वासन दिएपछि स्थानीय घर फर्केका थिए । स्थानीयले आरोपी कृष्णा राउतको घर पनि घेराउ गरेका थिए । ठूलो संख्यामा स्थानीय बासिन्दाले राउतको घर घेर्न पुगेपछि प्रहरीले रोकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताउनुभयो ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभएको छ

Leave a Reply