महोत्तरी,प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको बताउनुभएको छ । सोमवार महोत्तरीमा आयोजित पार्टीको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
आफ्नो पार्टी २०८४ सालमा बहुमत ल्याएर सरकार हाँक्ने नीतिका साथ अघि बढेको समेत उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धनले देश र जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभयो । देशको हितको पक्षमा मित्र राष्ट्रहरुसँग आँखा जुधाएर सरकारले कुरा गर्न नसकेको उहाँले चर्चा गर्नुभयो । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन मुलुकका जति दिन रह्यो, देशले त्यति नै दुःख पाउने टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो सरकार जनता र देशको पक्षमा त केही गर्न सकेन, छिमेकी मित्रहरुसँग भेटदा पनि आँखा जुधाएर कुरा गर्न सकेन ।’ आफूहरु मिसन २०८४ पछि दिगो ढंगले राजनीति गर्न चाहेको उहाँले बताउनुभयो । “बहुमत ल्याएर सरकार बनाउन चाहन्छौं । बहुमतको सरकार हाँकेर देश बनाउन चाहन्छौं । हाम्रो नीति त्यो छ” अध्यक्ष ओलीले भन्नुभयो । अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार हटेपछि देशमा विकास, निर्माणको काम ठप्प भएको दावी गर्नुभयो ।
यसअघि एमालेका अध्यक्ष ओलीले सङ्घीयता सफल ढङ्गले कार्यान्वयन गर्नुपर्ने बताउनुभएको थियो ।
महोत्तरी जिल्ला अधिवेशनको उद्घाटनको लागि आउनुभएका अध्यक्ष ओलीले जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै सो कुरा बताउनुभएको हो ।
सङ्घीय सरकारको कामकारबाहीले सङ्घीयता अप्ठ्यारोमा पर्न लागेको र जनताबाट विभिन्न खालका प्रश्नहरू उठ्न थालेको भन्दै उहाँले अहिले प्रश्न उठाउनुभन्दा सङ्घीयतालाई सफल बनाउने बेला भएको बताउनुभयो । उहाँले भन्नुभयो, सङ्घीयता आएपछि देशमा राम्ररी काम भएन, जनताले सेवा पाएन, विकास निमार्णका कामहरू भएन जस्ता प्रश्नहरू उठ्न थालेको छ । त्यसैले संविधान तह आएको सङ्घीयतालाई हामी सबैले सफल पार्नुपर्छ ।
उहाँले सङ्घ, प्रदेश र स्थानीय गरी तीनै वटै तह मिलेर सङ्घीयता बनेकोले सही ढङ्गले सङ्घीयताको कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले सङ्घीयतामा एकले अर्काको अधिकारलाई स्वीकार गर्नुपर्ने भन्दै त्यो अहिले हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, प्रदेशले आफ्नो अधिकार मागी रहँदा अर्काको अधिकार खोस्नुभएन । “१५ शय्याको अस्पताल स्थानीय तहको अधीनमा रहेको बेला त्यसलाई खोसेर चलाउने, आतङ्क मच्चाउने जस्ता कामहरू भएको छ । प्रदेशका मन्त्रीहरूले आफ्नै जिल्लाका स्थानीय तहलाई बढी बजेट दिने र अन्य जिल्लाका स्थानीय तहहरूलाई विभेद गरेको सुन्नुभएको होला । यसो गर्न हुँदैन,“ उहाँले भन्नुभयो ।अध्यक्ष ओलीले प्रदेश सरकारहरूले पाएका अधिकारलाई ठिक ढङ्गले कार्यान्वयन गर्नुपर्ने बताउदै सङ्घीयता कार्यान्वयनमा सङ्घ सरकार उदासीन रहेको कुरा अफवाह मात्रै भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले संविधान, ऐन, कानुन निमार्ण गरेर सङ्घीयता ल्याएको कारण सङ्घीयता कार्यान्वयन गर्न सङ्घ सरकार उदासीन छ भने कुरा गलत रहेको बताउनुभयो । सङ्घीयतामाथि विभिन्न खालका टिका टिप्णीहरु उठेपनि सङ्घीयतामाथि पुन विचार गर्ने वेला अहिले नआएको बताउनुभयो । अध्यक्ष ओलीले सरकारको हस्तक्षेपकारी क्रियाकलापले नेपालमा रेडक्रसले मान्यता नपाएको र इतिहासमा यो पहिलो पटक भएको बताउनुभयो ।
गठबन्धनको सरकारले देशलाई आफ्नै हो भनेर बेठिक कामहरू गरिरहेकोले सरकारकारको कामकाज टिप्पणी गर्ने लायक नभएको बताउनुभयो । उहाँले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा नमिलेका कुराहरूलाई मिलाएर पास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विधेयकमा पीडितले न्याय पाउनु पर्ने विषयमा देखिएका त्रुटिहरूलाई सच्चिएर विधेयकलाई पास गर्नुपर्छ ।“ उहाँले पूर्व राजाको विभिन्न ठाउँमा भएको दौडधुपलाई पार्टी खोल्नका लागि आधार तयार पार्ने काममा लागेको हुन सक्ने भनेर टिप्पणी गर्नुभयो ।सो अवसरमा नेकपा एमालेका सचिव रघुवीर महासेठ, नेकपा एमालेका नेता सुमन प्याकुरेल, एमालेका नेत्री जुली महासेठ, नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज यादव, उपनेता दीपेन्द्र ठाकुर, प्रमुख सचेतक हरिनरायण महतो सहितका नेताहरुको उपस्थिति थियो ।



















