फेरि प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिदै छ । मंसिर ४ गतेका लागि निर्वाचनको दिन पनि तोकिएको छ । तर नेपालमा भने राजनीतिक दलहरुले आफ्नो स्वार्थका लागि फेरि भागबण्डाको राजनीति गर्न थालेका छन् । अथवा जनतामा गठबन्धनको नाममा सिण्डीकेट लगाउने संभावना बढी छ । हालै सकिएको स्थानीय तहको चुनावमा सत्ता गठबन्धनको नाउँमा सिण्डीकेट चल्यो र फेरि त्यो दोहोरिनेछ ।

राजनीतिमा सिण्डीकेट हुँदा धेरै कुरामा हानी हुन्छ । हुनत कुनै न कुनै हिसाबले दलहरुले नेपालमा सिण्डीकेट कायम गरेका कारण मुलुकको श्रीवृद्धि हुन सकेको छैन । फेरिपनि चुनावमा सत्ता गठबन्धनको नाउँमा जनतामाथि जवरजस्ति सिण्डीकेट लगाउने खेल हुँदैछ ।

जनताले त स्वविवेकमा मत दिन पाउनु पर्छ । हुनत चुनावमा जवरजस्ति भन्ने नहोला तर गठबन्धन भएपछि र सत्तापक्षको सिट बढी आउने संभावना यसै बढ्छ । यहाँ एमाले ठीक वा अरु खराब भन्न विलकुल खोजिएको होइन । मुल कुरा बहुदलीय प्रजातन्त्रमा सिण्डीकेट लगाउन हुदैन भन्ने नै हो । लोकतन्त्रमा निर्वाचनको निक्कै ठूलो महत्व हुन्छ । दलहरु आआफ्नो घोषणापत्र लिएर जनतामाझ जान्छन र जनताले पनि मन पराएको दललाई भोट हालेर सरकारमा पुर्याउछन । जसले जनताको मत जित्छ उसले पाँच वर्ष शासन गर्छ ।

तर निर्वाचनमा विभिन्न दलहरु सधै यसरी नै गठबन्धन बनाएर चुनाव लडन थाले भने बहुदलीय प्रजातन्त्रको नै उपहास हुनजान्छ । जनताले कुन दललाई राम्रो छ भनेर भन्ने? कसको घोषणापत्रको आधारमा मतदान गर्ने? यस्तो अवस्थामा जनता कुनै एउटा दललाई रोज्न पाउने अधिकारबाट बन्चित हुन पुग्छन । निर्वाचनमा दलहरुबीच यस्तो गठबन्धन अवश्य नै राम्रो कुरा होइन । लोकतन्त्र बलियो र संवृद्ध बनाउने हो भने सबै दलहरु आफ्नो घोषणापत्र लिएर स्वतन्त्र रुपमा उठ्नुपर्छ र जनतालाई पनि स्वतन्त्र रुपमा दल छनौट गर्ने अधिकार सुम्पिनुपर्छ । ।

Leave a Reply