नरेश गुप्ता
बरियारपुर,स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल समाप्त भएको अवस्थामा बाराको प्रसौनी गाउँपालिकाकामा अध्यक्ष सगुन योजना कार्यक्रमको प्रचारप्रसार गर्न खोजिएको छ ।
प्रसौनी गाउँपालिकाका तत्कालिन अध्यक्ष भोला गुप्ताले आफ्नो पहलमा गाउँपालिकामा लागू गरेको सगुन योजना कार्यक्रमलाई प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरीले बिवाह हुन लागेको बेहुलीको घरमै पुगेर ५१ हजार नगद र बधाई पत्र वितरण गरेको तथ्य बाहिर आएको छ ।
स्थानीय तहको निर्वाचन हुन अब १५ दिन मात्र बाँकी रहेको अवस्थामा प्रसौनी गाउँपालिका कार्यालयले अध्यक्षमुखी कार्यक्रम सगुन योजना चुनाव कै बेलामा मात्र संचालन गर्नुले स्थानीय तहको चुनावलाई प्रभावित पर्ने मनसाय हुनसक्ने स्थानीयहरुले बताएकाछन ।
प्रसौनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत केशरीले अध्यक्ष गुप्ताको कार्यकाल सकिएपछि सगुन योजना कार्यक्रम चलाउनु जायज नभएको स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले बताउन थालेका छन । बिश्रामपुर गाउँपालिकाबाट विषेश सेटिङ्ग्मा सरुवा भएर आउनुभएका केशरीले प्रसौनी गाउँपालिकामा अनियमितता, भ्रष्टाचार झन बढाएको पनि आरोप छ । स्थानीय तहको जनप्रतिनिधिहरुको कार्यकाल समाप्त भइसकेको र राजिनामा पनि दिइसकेको अवस्थामा गाउँपालिकाले बिदाई समारोह गरेर आचारसंहिताको खिल्ली उडाएको बताइएको छ । सरुवा भएर आएको झण्डै ५ महिना बितिसक्दा पनि प्रमुख प्रशासकीय अधिकृत केशरीले बिग्रेको एम्बुलेन्स मर्मत गर्न नसकेर बिरामीहरुलाई समयमा अस्पताल पुर्याउन समस्या हुदै आएको छ ।