काठमाडौँ,तराई– मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को पहाडी भूगोलमा ठडिएका अग्ला पुलले अहिले सबैको ध्यान तानेका छन् । पहाड छिचोल्दै, खोलामाथि ‘आकाश छुने’ जस्ता देखिने ८२ मिटर अग्ला पुलले धमाधम आकार लिइरहेका छन् ।द्रुतमार्गमा कुल ८९ पुल बन्नुपर्नेमा ९ वटाको निर्माण सकिइसकेको छ । यसमध्ये पनि ८२ मिटर अग्ला ४ वटामा तीनवटाको निर्माण सकिइसकेको छ । मकवानपुरको लेनडाँडा र धेद्रे सुरुङ जोड्ने खण्डमा निर्माण गरिएका यी पुल द्रुतमार्गकै सबैभन्दा अग्ला संरचना हुन् ।
लेनडाँडा सुरुङको मुख जितपुर खोलामाथि काठमाडौंबाट–निजगढ र निजगढ–काठमाडौं चल्ने सवारीका लागि समानान्तर दुई पुल बनाइएका छन् । तीमध्ये एउटा पुलको काम बाँकी छ, जसको लम्बाइ ३ सय ३९ मिटर छ । यस्तै, धेद्रे सुरुङतर्फ जाने चालिसे खोलामाथि निर्माण गरिएका दुवै पुल सम्पन्न भइसकेका छन् ।सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार अन्तिम चरणमा रहेको पुलमा पिलर ठड्याउने काम सकिएको छ भने त्यसमा ढलान गरेर तयार गरिएको स्ल्याब राख्न बाँकी छ । ‘उक्त मार्गमा निर्माण गरिने विशेष प्रकारका ८९ पुलमध्ये ९ वटाको निर्माण सकिइसकेको छ,’ बस्नेतले भने, ‘अधिकांश पुलको फाउन्डेसनको काम सकिएर सुपरस्ट्रक्चरको काम भइरहेको छ ।’
पछिल्लो समय उक्त मार्गमा निर्माण भइरहेका अग्ला पुलको भिडियो र फोटो सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । सबैको नजर लेनडाँडा र धोद्रेकै ८२ मिटर अग्ला पुलमा छ । पुलको काम भइरहे पनि त्यसमा प्रयोग हुने ‘बेरिङ’ चीनबाट आउनुपर्ने र रसुवागढी नाका बन्द हुँदा समस्या भएको आयोजना स्रोतले जनाएको छ ।द्रुतमार्गमा ७ वटा सुरुङ निर्माणाधीन छन् । यसमा धेद्रे र लेनडाँडा सुरुङमार्गको काठमाडौंतर्फ जाने र निजगढतर्फ आउने समानान्तर रूपमा निर्माण गरिएका दुवै सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ । अहिले यी सुरुङमा दोस्रो तहको लाइनिङको काम जारी छ । सबैभन्दा लामो महादेवटार सुरुङको अझै ‘ब्रेक थ्रु’ हुन सकेको छैन । यसको कुल दुरी ३ हजार ३ सय ५५ मिटर छ । यसमा पनि समानान्तर रूपमा दुई वटा सुरुङ निर्माण भइरहेको र एउटा २ हजार २ सय ८८ र अर्को २ हजार ३ सय ९५ मिटर खनिसकिएको छ ।


















