निजगढ,निजगढ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा हरेक महिनाको पहिलो आइतवार संचालन हुँदै आएको उपप्रमुख महिला प्रजनन स्वास्थ्य कार्यक्रममा महिलाहरुको स्वास्थ्य प्रवद्र्धनमा प्रभावकारी देखिएको छ । निजगढ नगरपालिकाकी तत्कालिन उपप्रमुख लिलादेबी लामिछानेको प्रयासमा सुरु भएको सो कार्यक्रम महिलाहरुको स्वास्थ्य प्रवद्र्धन गर्न प्रभावकारी देखिएको हो ।

निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन हुँदै आएको ‘उपप्रमुख महिला प्रजनन स्वास्थ्य कार्यक्रम’ अन्तर्गत एकीकृत प्रजनन स्वास्थ्य सेवा क्लिनिकमा महिलाहरुले चिकित्सकसंग आफ्ना समस्या खुलेर राख्न पाउने भएपछि क्लिनिकमा महिलाहरुको आकर्षण बढदै गएको हो ।

नारायणी अस्पताल वीरगन्जकी वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. मन्जु रायद्वारा निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा हुँदै आएको क्लिनिक अन्तर्गत अघिल्लो आइतवार मात्र ६१ जना महिलाहरुले निःशुल्क परीक्षण र उपचार गराएका छन् । जुन संख्या गत महिनाहरुको भन्दा बढी हो ।

अघिल्ला महिनाहरुमा बढीमा ५० जनासम्म महिलाहरुले स्वास्थ्य परीक्षण र उपचार गराउँदै आएका थिए । क्लिनिकमा २९ जनाले भिआईए परीक्षण, ४ जनाले आङखस्ने समस्यामा रिङ प्रेसरी लगाउने र थप २८ जना गरी ६१ जनाले प्रजनन लगायत अन्य समस्याहरुमा निःशुल्क परीक्षणका साथै उपचार लिएको निजगढ नगरपालिका स्वास्थ्य शाखाकी सिअनमी रामप्यारी तिमल्सिनाले बताउनुभयो ।

क्लिनिकमा १० वर्ष वा सो भन्दामाथि उमेर समूहका सम्पूर्ण महिलाहरुको नियमित पाठेघर परीक्षण, पाठेघरको मुखको क्यान्सर जाँच, भिआईए परीक्षण, पाठेघर आङ्ग खसेका महिलाहरुको रिङ प्रेसरी लगाउने, स्तन क्यान्सर बाँझोपन, महिनावारी गडबडी, यौंन सम्बन्धि रोगहरु र महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धि सम्पुर्ण समस्याको परीक्षण र उपचार हुँदै आएको तिमल्सिनाले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा करिब ७०० भन्दा बढी महिलाले स्वास्थ्य परीक्षण र उपचार गराएका छन् । उपचार र परीक्षणमा महिला डाक्टरमार्फत स्थानीय स्तरमा नै उपचार र परीक्षण गरिने भएकोले पनि महिलाहरुले आफ्ना समस्या खुलेर राख्ने गरेको र उपचार सेवा प्रभावकारी बनेको उहाँले बताउनुभयो ।

प्रजनन स्वास्थ्य बारेमा गाँउघरका महिलाहरुमा रहेको भ्रमका कारण उनीहरुले महिनावारी, यौन तथा पाठेघर लगायतका समस्याहरु लुकाउने र उपचार नगर्ने प्रवृत्ति रहेको छ । क्लिनिक सुरु भएपछि महिलाहरु बिना संकोज उपचारमा आउन थालेको निजगढ नगरपालिकाकी पूर्वउपप्रमुख लिलादेवी लामिछानेले बताउनुभयो ।

निजगढ नगरपालिकाले संचालनमा ल्याएको प्रजनन स्वास्थ्य उपचार तथा परीक्षण कार्यक्रम लोकप्रिय हुँदा आफुलाई खुशी लागेको पनि उहाँले बताउनुभयो । मधेश प्रदेशमा निजगढ नगरपालिकाले मात्रै महिलाहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर यस्तो सेवा सुरु गरेको पनि उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी कार्यक्रम प्रभावकारी भएकोले आगामी वर्षमा पनि त्यसलाई निरन्तरता दिइने निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गले बताउनुभयो । आफू निर्वाचित भएर आए लगत्तै अनुगमन गरेको र प्रजनन स्वास्थ्य उपचार तथा परीक्षण कार्यक्रम नगरका महिलाहरुको स्वास्थ्य सुरक्षामा प्रभावकारी .देखिएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here