सिमरा,महालेखा परीक्षकको कार्यालयको ५९ औं वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार बारा जिल्लाका १६ वटा स्थानीय तहमध्ये जीतपुरसिमरा उपमहानगरपालिकामा बेरुजु रकम सबैभन्दा बढी देखिएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका बेरुजु रकममा बारा जिल्लामा पहिलो, मधेश प्रदेशमा दोस्रो र देशभरका ११ वटा उपमहानगरपालिका मध्ये पनि तृतीय स्थान ओगटेको छ । उपमहानगरपालिकाको बेरुजु रकम ५२ करोड ९५ लाख ९० हजार देखिएको छ ।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिका मधेश प्रदेशमा बेरुजुको सूचीमा पहिलो नम्बरमा परेको छ । जनकपुरधाममा ७.८२ प्रतिशत बेरुजू देखिएको छ । जीतपुरसिमरामा ६.२७ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । देशका ११ उपमहानगर मध्ये इटहरी उपमहानगरपालिकामा ६.७६ प्रतिशत बेरुजु देखिएको छ ।

जीतपुरसिमरामा आर्थिक वर्ष २०७७।०७८ को लागि उपमहानगरपालिका भित्रका पसाहा, बालगंगा र दुधौरा खोलाको बोलपत्र न्यूनतम ७ करोड ६७ लाख ९४ हजारमा आह्वान गरेकोमा सबैभन्दा बढी कबोल गर्ने जयमाता दी सप्लायर्सले १४ करोड ६७ लाख ७ हजार ९ सय ९१ रुपैयाँमा कबोल गरेकोमा बोलपत्र नसकारेका कारण दोस्रो बढी कबोल गर्ने बिनोद साह निर्माण सेवासँग १२ करोड ७६ लाख ७७ हजार ९ सय ९१ रुपैयाँमा सम्झौता गरेको थियो । तर हालसम्म पनि बिनोद साह निर्माण सेवासँग ३ करोड १२ लाख रुपैयाँ उपमहानगरपालिकाले असुल गर्न सकेको छैन् । सबैभन्दा बढी कबोल गर्ने जयमाता दी सप्लायर्सले बोल कबोल नसकारेका कारण उसको बोलपत्र जमानत ७ लाख ४० हजार जफत गरी आम्दानी जनाए पनि सार्वजनिक खरिद ऐन तथा नियमावलीमा उल्लेखित कुनै कारबाही गरेको छैन ।

उपमहानगरपालिकाले उक्त ठेकेदार कम्पनीलाई कालो सूचीमा सूचीकृत गर्न सम्बन्धित निकायमा पठाउनु पर्नेमा कार्यालयले कालो सूचीमा राख्न कारबाही प्रकृया सुरु नगरेको महालेखा परीक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Leave a Reply