कलैया,बारा क्षेत्र नम्बर २ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा अन्य क्षेत्रबाट पराजित भएका उम्मेदवार हुने संख्या अधिक देखिएको छ ।पनिर्वाचनमा चर्चित अनुहारसहित ३६ जनाले उम्मेदवारी दर्ता गराएकोमा गत मंसिरमा सम्पन्न निर्वाचनमा पराजित उम्मेदवारहरुको संख्या अधिक देखिएको छ ।कलैयास्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय सोमवार १२ राजनीतिक दल र २४ जना स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गरेका हुन् ।दलबाट मनोनयन दर्ता गर्नेमा जनता समाजवार्टी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, आम जनता पार्टीका अरुण ज्ञवाली छन् ।यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल साह तेली, नागरिक उन्मुक्ती पार्टीका कमरुल्लाह अंसारी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका मनिफ मिया अंसारी, नेपाल मजदुर किसान पार्टीका मुक्ती यादव, हाम्रो नपाली पार्टीका चन्द्रप्रकाश सुवेदी, नेपाल संघीय समाजवादी पार्टीका नेराजुल अंसारी, मंगोल नेशनल अर्गनाईजेशनका प्रमोद राम चमारले उम्मेदवारी दिएका छन् भने अन्य स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्रमध्ये अधिकांश राजनीतिक दलका ‘डमी’ उम्मेदवार छन् ।ठुला दलबाट उम्मेदवारी दिएका उम्मेदवारमध्ये केही चर्चित तर चार महिनाअघि सम्पन्न निर्वाचनमा पराजित अनुहार समेत छन् । सप्तरी २ बाट जनमत पार्टीका डा. सिके राउतसंग पराजय व्यहोरेका जसपा अध्यक्ष यादव अर्को अवसर खोज्दै बारा आउनुभएको छ ।डा. राउतले पनि मंसिरको आम निर्वाचनमा उपराष्ट्रपति यादवसंग थोरै मतान्तरले पराजित भएका शिवचन्द्र कुशवालाई उम्मेदवारका रुपमा अघि सार्नुभएको छ ।
कुशवाह यसअघि नेकपा माओवादी केन्द्रबाट बारा क्षेत्र नम्बर २ मा उम्मेदवार बन्नुभएको थियो ।त्यसैगरी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नुभएका पूर्वडिआइजी रमेश खरेल पनि पराजित अनुहार हुन । काठमाण्डौ १ बाट पराजित खरेल दोस्रो अवसर खोज्दै बारा आउनुभएको हो ।यता प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट अरुण ज्ञवाली उम्मेदवार हुनुभएको छ । उहाँ पनि गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा सोही क्षेत्रबाट पराजित हुनुभएको थियो । हाम्रो नेपाली पार्टीका उम्मेदवार चन्द्रप्रकास सुवेदी पनि अघिल्लो निर्वाचनमा पराजित अनुहार हुनुुहुन्छ ।ठुला राजनीतिक दलबाट उम्मेदवारी दिएकामध्ये नेकपा एमालेका पुरुषोत्तम पौडेल नयाँ अनुहारका देखिनुभएको छ । २०७० सालमा बारा क्षेत्र नं. ६ बाट संविधानसभा सदस्यमा निर्वाचित पौडेल त्यसयता उम्मेदवार बन्नुभएको छैन । पौडेल झण्डै ९ वर्षपछि प्रत्यक्ष निर्वाचन लड्दैहुुनुहुन्छ । युवा तथा खेलकुद पूर्वमन्त्री समेत रहनुभएका पौडेल ‘हेभिवेट भिडन्त’ मा सफल हुँदै प्रतिनिधिसभा प्रवेश गर्न तयार देखिनुहुन्छ ।निर्वाचनको लागि १२ जनाले राजनीतिक दलबाट उम्मेदवारी दिँदा २४ जना स्वतन्त्र उम्मेदवार बनेका छन् । स्वतन्त्र रहेका अधिकांश उम्मेदवार ‘डमी’ हुन् । दलका उम्मेदवारहरुले आफ्नो चुनाव प्रचारमा उम्मेदवारको रुपमा निर्वाचन आयोगले दिएको सुविधा प्रयोग गर्न ‘डमी’ उम्मेदवारको स्वतन्त्र उम्मेदवारी दिलाएका हुन । निर्वाचन कार्यालयबाट प्राप्त गर्ने सवारीसहितको अन्य सुविधा लिनका लागि राजनीतिक दलले स्वतन्त्र उम्मेदवार उठाउने गरेका छन् । यसअघि मंसिर ४ मा सम्पन्न निर्वाचनमा पनि बारा २ मा ११ जना स्वतन्त्र उम्मेदवार रहेका थिए ।















