पुष्पराज खतिवडा
सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकामा ६७औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।मंगलवार पालिकाको जीतपुरस्थित कार्यालयबाट सहकारीकर्मीहरुको ठुलो सहभागितामा निस्किएको प्रभातफेरि पालिकाकै वडा नम्बर ७ को खुल्ला मैदानमा सभा गरी सम्पन्न भएको छ ।

“सहकारीमा सुशासन, प्रविधि र एकीकरण” भन्ने मुल नारा सहित आयोजित सहकारी दिवस विशेष समारोहको नगरप्रमुख राजन पौडेलले उद्धाटन गर्नुभएको थियो । विभिन्न फोरमहरुमा सहकारी एकीकरणको सवाल उठाउँदै आउनुभएका नगरप्रमुख पौडेलले यस वर्षको नारामै एकीकरणको कुरा समेटिएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले सहकारीहरुको संख्यामाभन्दा पनि सेवाका हिसावले गुणात्मक विकास जरुरी भएको बताउनुभयो ।

सहकारीहरु सदस्यको आवश्यताको आधारमा संचालन हुनुपर्नेमा उहाँको जोड थियो । नगरले सहकारी अभियानलाई प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्ने भन्दै अनुगमन र नियमनलाई प्रभावकारी बनाइने पनि बताउनुभयो ।
यससँगै सहकारी सदस्यहरुको जीवन परिर्वतनमा भूमिमका अभिवृद्धिका लागि सहकारीहरुसँगको सहकार्यमा तालिम, गोष्ठीलगायतका विभिन्न कार्यक्रम संचालन गरिने समेत नगर प्रमुख पौडेलले बताउनुभयो ।

यस्तै बारा बचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुरले पछिल्लो समय सहकारीको ऋण तिर्नु पर्दैन भन्नेहरुको पछि नलाग्न सहकारीका सदस्यहरुलाई आग्रह गर्नुभयो । “सहकारी संस्थाका सदस्यहरुको पूँजी लगानी संचालित सहकारीका सदस्यहरुले लिएको कर्जा मिनाहा हुने कुराको कुनै सम्भाावना छैन । भ्रममा परेर सहकारी धरासायी बनाउनेको पछि नलागौं,” उहाँले भन्नुभयो ।
यसैगरी कार्यक्रममा नगर सहकारी समन्वय समितिका सदस्य मुकुन्दबहादुर क्षेत्री, सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा, साना किसान कृषि सहकारी संस्था लि. सिमराकी अध्यक्ष कमला अधिकारी, जीतपुरसिमरा उपमहानगरपालिका प्रशासकीय अधिकृत शिवजी प्रसाद लगायतले सहकारीका सवल पक्ष केलाउँदै संचालनमा सावधानी अपनाउनु पर्नेमा जोड दिएका थिए ।

उपमहानगरपालिकाले सहकारी दिवसको अवसरमा सहकारीको विषयमा विद्यावारिधि गरेका प्रथम नगर प्रमुख स्वार्गीय डा. कृष्ण पौडेललाई मरणोप्रान्त सम्मान गरेको छ । स्वार्गीय पौडेलकी धर्मपत्नी शर्मिला पौडेलालाई सो सम्मान प्रदान गरिएको हो ।यसैगरी पालिका स्तरका विभिन्न उत्कृष्ठ ११ वटा सहकारी संस्था तथा सहकारी अभियानमा सक्रिय रहेर हाल कानुनी प्रावधानका कारण सहकारीको मुख्य जिम्मेवारीबाट अलग भएका शिक्षक तथा जनप्रतिनिधि २५ जनालाई समेत सम्मान गरिएको थियो ।नगर सहकारी समन्वय समितिका अध्यक्ष एवं नगर उपप्रमुख भोलाप्रसाद अधिकारीको अध्यक्षता, सहकारी दिवस मुल आयोजक समितिका सदस्य जनकल्याण बहुउदेश्य सहकारी संस्थाका अध्यक्ष गणेशजी प्रसाद साहको स्वागत एवं नगर सहकारी शाखाका प्रमुख सुधन चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply