काठमाण्डौ ,नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाउनु दुःखद घटना भएको बताउनुभएको छ ।
शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुःखद भएको बताउनुभएको हो । उहाँले लामो समयको अध्ययनपछि निजगढमा विमानस्थल बनाउनु उपयुक्त हुने निष्कर्षका साथ काम भएको भन्दै त्यसरी रोकिनु गलत भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सर्वाेच्चद्वारा निजगढमा विमानस्थल बनाउने कुरालाई रोक लगाउनू भनेर निर्णय भएछ । धेरै लामो समयसम्म छलफल गरेपछि, सन् १९९५ देखि प्रक्रिया अगाडि बढेर, १० वटा ठाउँको अध्ययन गरेर सबैभन्दा उपयुक्त ठाउँ निजगढ हो भन्ने कुरा आइसकेपछि अहिले फेरि रोक्न आदेश आएको छ । ‘मास्टरप्लान’ तयार भइसकेको स्थितिमा, झन्डै साढे तीन अर्ब रुपैयाँ नागरिक उड्ययन प्राधिकरणले खर्च गरिसकेको अवस्थामा, जग्गा अधिग्रहण गरिसकेको अवस्थामा रोक लगाउँदा बडो दुःख लाग्यो मलाई । विकासका अभियन्ता सबै हुनुपर्ने हो । सबैको साझा देश हो । देशको विकासमा लाग्नुपर्ने हो । तर त्यस्तो नगरेर रोक्न खोजेको कुरा बडो दुःखको कुरा म ठान्दछु । त्यो विमानस्थलको विकल्प के ?’
अध्यक्ष नेपालले विमानस्थल निर्माण रोक्ने सर्वोच्च अदालतको फैसलामा पुनर्विचार हुनुपर्ने बताउनुभयो । सरकार र राजनीतिक दलहरूले पनि यस विषयलाई गम्भिरताका साथ लिनुपर्ने उहाँको भनाइ छ ।
निजगढमा विमानस्थल बनाउनु सबै हिसाबले उपयुक्त भएको उहाँले उल्लेख गर्नुभयो । त्यहाँ विमानस्थल बनाउँदै गर्दा वन विनाश नभएको र वन्यजन्तुको आगमनलाई समेत असर नपरेको उहाँको भनाइ छ ।
अध्यक्ष नेपालले सरकारले विकासको काम गर्दा परियोजनाको प्राथमिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो । योजनालाई प्राथमिकीकरण गर्दै समग्र नेपालको विकास खाका बनाउनुपर्ने उहाँको भनाइ छ ।
डा. भट्टराईको आपत्ति
काठमाण्डौं,जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले निजगढ विमानस्थल निर्माण रोक्न अदालतले दिएको आदेशप्रति आपत्ति जनाउनु भएको छ ।
पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत देशको महत्वपूर्ण परियोजना रोक्न अदालतले आदेश दिदा आफू लज्जित भएको बताउनु भएको हो ।
आफूले राष्ट्रिय गौरवका परियोजना घोषणा गर्दा काठमाण्डौं( तराई फास्ट ट्रयाक र निजगढ विमानस्थललाई संयुक्त १ नम्बर र बुढीगण्डकी जलासय युक्त विद्युत परियोजनालाई २ नम्बर महत्वको भनेको स्मरण गर्दै उहाँले फेरि सर्वोच्चले अर्को बन्चरो प्रहार गरेकाले आफू लज्जित भएको लेख्नुभएको छ ।


















