कलैया,बाराको फेंटा गाउँपालिका वडा नम्बर ३ फेंटास्थित बौद्धिमाई मन्दिरमा तोडफोड भएको छ ।
स्थानीय हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा रहेको ऐतिहासिक धार्मिक स्थल श्री बौद्धिमाई मन्दिर परिसरमा केही व्यक्तिहरुले तोडफोड गरी सामाजिक सद्भाव खलबलाउने प्रयास गरेका हुन् ।
मन्दिर परिशरमा रहेको चापा कलको मुडा फुटाइएको छ । सो स्थानमा रगत जस्तो देखिने रातो छिटाहरुसमेत ठाउँ ठाउँमा देखिएको छ । असमाजिक तत्वहरुले मन्दिरको मुख्य प्रवेशद्वारमां रहेको बाघको मुर्तीमा पनि तोडफोड गरेको बताइएको छ । उनीहरुले मन्दिर प्राङ्गणलाई ईट्टाले प्रहार गरी भूईमा ओच्छ्याएको मार्बल, टालीमा समेत क्षति पुयाएका छन् । घटनाको दृष्य हेर्दा बौद्धिमाई माताको मुर्ती समेत फुटाउने प्रयास भएको स्थानीयले बताएका छन ।
त्यसैगरी माताको मुख्य मन्दिरको गेटमा ढुङ्गामुडा भएको छ । तर, गेट बन्द रहेका कारण मुर्तिमा कुनै क्षति पुगेको छैन ।
स्थानीयले दोषिलाई यथाशिघ्र पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन माग समेत गरेका छन् । समाजिक दंगा फैलाउने उद्देश्यले यो घटना घटाएको हुनसक्ने स्थानीयले आशंका समेत गरेका छन् । गाउँपालिकाको वडा नम्बर २ का वडा अध्यक्ष नरेश पटेलले घटनामा संलग्न दोषिपत्ता लगाएर कारबाही गर्नुुपर्ने माग गर्नुभयो । उहाँले समाजमा अशान्ति मच्याउन र सम्प्रदायिक दंङ्गा फैलाउने उद्देश्यले मन्दिरमा तोडफोड गरेको हुनसक्ने भएकोले प्रहरीले निष्पक्ष रुपमा छानबिन गरी दोषिलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने मागसमेत गर्नुभएको छ ।
यता बाराका प्रहरी प्रवक्ता एवंम् जिल्ला प्रहरी कार्यालय बारााक प्रहरी नायब उपरीक्षक राजेश थापले घटनालाई गम्भीरता पूर्वक लिएर अनुसन्धान गर्ने काम भइरहेको बताउनुभयो । घटनामा संलग्न रहेको आशंकामा एक जना व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको पनि उहाँले बताउनुभयो । उहाँले रातीको घटना भएको र मन्दिर बाहिर केहि क्षति पुर्याएको बताउनुभयो । घटना स्थलमा रगत समेत खसेको देखिएकाले तालिम प्राप्त कुकुर परिचालन गरी अनुसन्धान गर्ने काम गरेको बताउँदै थापाले मन्दिरमा तोडफोड गर्नेलाई कुनै पनि हालतमा नछोडने र प्रचलित कानुन बमोजिम कारबाही हुने जानकारी दिनुभयो ।