कलैया,जीतपुरसिमराका राजीव सापकोटाको जीवनरक्षा गर्न उहाँका परिवारले सबैसँग सहयोगको अपिल गरेका छन।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ मौलापुरका वेदप्रसाद सापकोटाका छोरा राजीव बचाउन सक्दो सहयोगको लागि अपिल गरिएको हो। गत वैशाख ३१ गते सहिद स्मारक हेटौंडामा स्विमीङ पुलमा पौडी खेल्दै गर्दा चिप्लिएर लडेका राजीवको सुष्मा कोइराला मेमोरिएल अस्पताल काठमाण्डौंमा उपचार भइरहेको छ।

चिकित्सकका अनुसार उनको मेरुदण्ड भाँचिएको छ भने नसा पनि च्यापिएको छ। हातका औंलाहरु समान्य रुपमा चले पनि बाँकी शरीर नचलेको अवस्थामा उपचाररत राजीवको २ महिना पहिले अप्रेशन भएको हो। डुमरवानास्थित जनता माध्यमिक विद्यालय रजघट्टाबाट एसइई दिएर परिणामको प्रतीक्षामा रहेका राजीव र उनका भाइको पढाइ खर्च धानेर गाईपालन गर्दै दैनिक गुजारा चलाउँदै आएका बुबा वेद प्रसादलाई छोराको उपचार खर्च धान्न निकै सकस परेको छ।

वर्षौंदेखि चिकित्सकको सल्लाहमा डिप्रेशनको औषधी सेवन गरिरहेका वेदप्रसादले भन्नुभयो, ‘त्यसपछि वडाध्यक्ष सहितका समाजले नै सहयोग माग्ने अभियान सुरु गरेका छन, सबैको सहयोग पाए मैले बुढेसकालको लाठी (छोरा) जोगाउन सक्छु कि भन्ने आशा छ ।’

राजीवको उपचारका लागि आर्थिक जोहो गर्न स्थानीय स्तरमा संघसंस्था तथा व्यक्तिले गरेको प्रयासले सहयोग रकम जुट्न सुरु भएको छ। सहयोग संकलनका लागि योंग नीति व्याण्ड, हिपहोप तराईको ¥याप, सिमरा युवा समाज लगायतका समुहहरुले लाइभ म्युजीक कार्यक्रमहरु आयोजना गरेको र वडा अध्यक्ष चयन गुरुङको पहलमा संचालन गरिएको राजीव बचाउ अभियानबाट करिब ६ लाख रुपैयाँ संकलन भएको जनाइएको छ।

सहयोग रकम दिँदा दाताहरुले राजीवकै लागि मात्र खर्च गरियोस् भनेर आग्रह गर्ने गरेकोले राजीवका ठूलाबुवा देवराज सापकोटा, वडाध्यक्ष गुरुङ्ग र स्थानीय नारायणप्रसाद जमकट्टेलको नाममा संयुक्त खाता खोलेर बैङ्कमा राख्ने तयारी गरिएको छ। उपचारमा रकम अभाव नहोस र उपचारबाट बचेको रकम राजीवको अवस्था अनुसारको व्यवस्थामा खर्च गर्ने योजना रहेको वडाध्यक्ष गुरुङले बताउनुभयो ।

स्थानीय युवाहरुले ‘सबैको साथले उनलाई बचाउन सक्छौं’ भन्दै समाजिक सञ्जालमार्फत व्यापक रुपमा सहयोगको अपील गरेका छन। उठेका रकम र राजीवको स्वास्थ्य अवस्था बारे निरन्तर फेसबुकमा पोस्ट गर्दै सहयोग जुटाउन अग्रसर युवा प्रताप रिजाल क्षेत्रीले देशभरका सहयोगी मनहरुसँग राजीव बचाउन आग्रह गर्नु भएको छ । सहयोग गर्न चाहनेले वडा अध्यक्षको मोबाइल नम्बर ९८११८५१५१५ मा सम्पर्क गर्नसमेत उहाँको आग्रह छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here