हेटौंडा – बागमती प्रदेश सरकारले प्रदेशसभाका सांसदलाई पनि वस्नका लागि सहज होस भन्ने उदेश्यले आवास निर्माण गरिदिने भएको छ । प्रदेशसभामा मकवानपुर भन्दा बाहेकका जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका सदस्यहरुलाई पनि वस्नका लागि सरकारी आवास निर्माण गरिदिन लागेको हो ।
प्रदेशका १३ वटा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई हेटौंडामा फ्ल्याट भाडामा लिएर वस्नका लागि पाउन समस्या, पाइहाले पनि महगो कोठाभाडा, प्रदेशसभाबाट अपाएक ठाउँमा कोठा लिनुपर्ने बाध्यता छ । त्यसैले प्रदेश सरकारमा रहेका मुख्यमन्त्री, मन्त्री, विभीन्न आयोगका सदस्यहरुसंगै प्रदेशसभाका सदस्यहरुका लागि पनि सरकारी आवास निर्माण गर्नका लागि तयारी थालिएको हो ।
प्रदेशसभाका सदस्यहरुलाई पनि सरकारी आवास दिने तयारी अनुसार जग्गाको खोजी भइरहेको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वताउनुभयो । प्रदेश सांसदहरुलाई जग्गा प्राप्त भएपछी भवन निर्माण गर्न पनि कम्तिमा दुईवर्ष लाग्छ । अहिलेका प्रदेशसभाका सदस्यहरुको म्याद अव तीन वर्ष मात्र छ । तर, अहिलेका सांसदले सरकारी आवास प्रयोग गर्न पाउँछनकी पाउँदैनन् भन्ने संका छ ।
प्रदेश सरकारले सरकारी आवास वनाउने र प्रदेश सांसदहरुलाई वस्नका लागि एक( एक वटा फ्ल्याट दिनेगरी निर्माण गरिने उहाँले वताउनुभयो । प्रदेश सांसद र मन्त्रीलाई कहाँ सरकारी आवास निर्माण गर्ने भन्ने अहिले सम्म टुङ्गो भने लागेको छैन । जग्गा प्राप्तीका लागि खोजी भइरहेको छ ।
यता प्रदेश सरकारको लागि मुख्यमन्त्री कार्यालय देखि सवै मन्त्रालयहरु निर्माण गर्नका लागि हेटौंडा ९ मा रहेको हेटौंडा सिमेन्ट उद्योगको खाली जग्गा प्रदेश सरकार मातहत ल्याउनका लागि काम भइरहेको मुख्यमन्त्री पौडेलले वताउनुभयो ।