वीरगन्ज,वीरगन्ज महानगरपालिका वडा नम्बर– २ छपकैयाँकी ४ वर्षीया बालिका साउन ५ घर नजिकै चौरमा खेल्दा खेल्दै हराइन् । परिवारका सदस्यहरुले रातिसम्म पनि बालिका घर नआएपछि सशंकित भए र भोलिपल्टै जिल्ला प्रहरी कार्यालयमा अभिभावकहरुले उजुरी दिए ।

साउन ६ गते शुक्रबार भोलिपल्ट हजुरबुबा मो.मैनुदिन मिया ठकुराईले नातिनी हराएकाले खोजी दिन आग्रह गर्दै प्रहरीमा निवेदन दिनुभयो । प्रहरीले पनि खोजी शुरु गर्यो । छिमेककै अन्दाजी १२ वर्षीय बालकले बालिकाको शव झाडीमा रहेको भनी अभिभावकलाई खबर गरे । साउन ७ गते बिहान वीरगन्ज– २ छपकैयास्थित खाली जग्गाको झाडीमा विभत्स अवस्थामा बालिका मृत भेटिइन् ।

अभिभावकहरुले शव उठाएर घरमा ल्याए । घरका सदस्यहरुले शव घरमा ल्याइसकेपछि बिहान ७ बजेतिर मात्रै प्रहरीले शव भेटिएको खबर पाएको थियो । त्यसपछि वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल सहितको टोली घटनास्थल अनुसन्धानका लागि पुग्यो । सोधखोज गर्ने क्रममा बालिकाको शव देखाउने अन्दाजी १२ वर्षीय बालक नै पहिला शंकाको घेरामा परेको प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।

तीनै १२ वर्षीय बालकले दिएको बयानको आधारमा थप तीन जनालाई पक्राउ गरिएको मल्लले बताउनुभयो । १२ वर्षीय बालक सहित वीरगन्ज– २ बस्ने १९ वर्षीय जफ्रुदिन भन्ने सलमान खान, वडा नं. १६ नगवा बस्ने १८ वर्षीय सलमान खान वीरगन्जमै पक्राउ परे भने घटनापछि दिल्ली फरार भएका १७ वर्षीय अभियुक्तलाई पनि प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

आरोपितहरू विरुद्ध जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसुरमा साउन ८ गते पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । गम्भीर प्रकृतिको घटना भएकाले त्यसैअनुसार अनुसन्धान प्रक्रियाअघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिनुभयो ।

Leave a Reply