काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेट, यती, ओम्नीसहितका प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिनुभएको छ । अध्यक्ष ओलीले सरकार र सत्तारूढ दललाई भ्रष्टहरूको संज्ञा दिँदै आफूमाथि आरोप लगाइएका सबै विषयमा छानबिन गरे उनीहरू आफैँ जेल जाने जिकिरसमेत गर्नुभयो ।सोमवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा उहाँले गिरीबन्धु टी स्टेटको जग्गा गैरकानुनी रूपमा बिक्री गरी कमिसन खानेहरूले आफूलाई बदनाम गराउने कोसिस गरिरहेको उल्लेख गर्दै त्यसमाथि पनि तत्काल छानबिन गर्न सरकारलाई दबाब दिनुभयो । ओलीले एमाले नेतृत्वको तत्कालीन सरकारले गिरीबन्धु स्टेटको जग्गालाई कानुनी दायरामा ल्याउन कानुन निर्माण गरेको तर त्यहाँ कुनै पनि अनियमितता नगरेको दाबी गर्नुभयो । उहाँले ललिता निवास प्रकरणमा एमालेलाई आरोप लगाउनेहरू अहिले आफैँ भागाभागमा परेको जिकिरसमेत गर्नुभयो ।उहाँले भन्नुभयो, ‘हामी कुनै पनि प्रकारको गलत क्रियाकलाप गर्दैनौँ । विरोधीहरूले पहिले पनि यती होल्डिङ्स भने, हामीले छानबिन गर भनिराखेका छौँ । बाइडबडी छानबिन गर, अनि आफैँ जेल जाऊ । अस्तिसम्म ललिता निवास भन्दै थिए, अहिले कस्तो भागाभाग छ । अहिले गिरीबन्धु टी स्टेटको कुरा निस्केको छ, गर न छानबिन ? कमिसन खाएको छैन । नेकपा एमाले कमिसनको पछाडि कुद्ने पार्टी होइन । ओम्नीको पनि छानबिन गर । भ्रष्टहरूले हामीलाई थर्काउने उल्टै ?’ओलीले एमालेले देश बनाउने भिजन लिएको भन्दै त्यही उद्देश्य पूरा हुने गरी अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here