निजगढ,बाराको निजगढ नगरपालिकाबाट एकजना भारतीय युवतीले झुटो विवरणको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छिन ।
निजगढ नगरपालिका वडा नम्बर १२ वडा कार्यालयले सिफारिस दिएपछि भारतको कालिङ्गपोङ्ग घर भएकी भनिएकी वर्ष २१ की रजनी राईलाई ईलाका प्रशासन कार्यालय सिमराले गत साउन १ गते नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो । उनले ना. प्र. नं. ३३–२–७९–००५१३ को नागरिकताको प्रमाणपत्र पाएकी हुन ।
वडा कार्यालयले स्थानीय श्यामराज गोले (बाबु) र जिरामाया गोले (आमा) को छोरी भन्दै राईलाई नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन ईलाका प्रशासन कर्यालय सिमरामा गत जेष्ठ २४ गते सिफारिस पठाएको थियो । यसअघि वडा कार्यालयले जेष्ठ २३ गते युवतीको जन्मदर्ताको प्रमाणपत्र तयार पारेको थियो ।
वडा कार्यलयकोे सिफारिसपछि प्रशासन कार्यालयले सर्जमिनको लागि ईलाका प्रहरी कार्यालय निजगढमा पत्र पाठाएको भएपनि सो पत्र ईप्रकामा दर्ता नगरी सिधै मातहतको अस्थायी प्रहरी चौकी रतनपुरीमा पुगेको र चौकीबाट नै सर्जमिन गरिएको पनि पाइएको छ । प्रहरी चौकीको क्षेत्रमा पर्ने भएकोले उसैले सर्जमिन गर्नुपर्ने भए पनि आफूलाई जानकारी नै नदिइ पत्र आएको र चौकीमार्फत नै कागजपत्र तयार पारेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले जानकारी दिनुभयो । ‘कार्यालयको नाममा आएको पत्र सिधै अस्थायी प्रहरी चौकीमा पुगेको रहेछ, निरीक्षक ओलीले भन्नुभयो, उतैबाट कागजपत्र बनाएर सिमरा लगेर नागरिकता बनाएको देखियो ।’ आफूले पत्र अध्ययन गर्न पाएको भए झुटो विवरणको आधारमा यसरी नागरिकता बनाउन रोक्ने पनि उहाँले बताउनुभयो ।
वडा कार्यालयबाट आएको सिफारिसको आधारमा रजनीलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको र हाल वडा कार्यालयले नागरिकता रद्द गर्न अर्को पत्र पठाएपछि सो बारेमा छानबिन सुरु गरिएको ईलाका प्रशासन कार्यालय सिमराका प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालले बताउनुभयो । उहाँले नक्कली आमा र बुबा बनेका दुबैजना र वडा अध्यक्ष गोलेलाई पनि सोधपुछको लागि कार्यालयमा उपस्थिति गराउन प्रहरीमार्फत बोलाइएको जानकारी दिनुभयो । रजनीले नेपाली नागरिकताको प्रमाणपत्र बनाएको भेलिपल्ट नै काठमाण्डौंबाट राहदानीसमेत बनाएर लिएको बताइएको छ । प्रहरी निरीक्षक ओलीले नक्कली आमा÷बुबा बन्नेहरु हाल फरार रहेको र खोजी कार्य भइरहेको बताउनुभयो ।
भारतीय नागरिकलाई नागरिकताको सिफारिस गरेको भन्दै गाउँमा हल्ला चलेपछि वडा कार्यालयले खारेजीको लागि इलाका प्रशासन कार्यालयमा आवेदन गरेको बताइएको छ । आफूहरुलाई झुक्याएर नक्कली कागजपत्रको आधारमा सिफारिस बनाएर लगेको वडा अध्यक्ष गोलेले बताउनुभएको छ । ‘आमा÷बुबा बन्नेहरुलाई चिनेको थिए, तर नक्कली छोरीलाई चिनेको थिइन, अध्यक्ष गोलेले भन्नुभयो, साथीहरुको विश्वासमा परेर सिफारिसमा सहिछाप गर्दा त्रुटी भयो ।’ गाउँमा हल्ला चल्न थालेपछि मात्रै नागरिकता बनाउने मान्छे भारतीय नागरिक भएको आफूले जानकारी पाएको पनि उहाँले बताउनुभयो ।
राईको बुबा र आमा बनेका श्यामराज र जिरामाया सोही वडाको नेपाली कांग्रेशको वडा पार्टी सभापति सोनाम सिं गोलेका भाइ र बुहारी हुन । दार्जिलिङ्गमा रहेका नातेदारहरु मार्फत नक्कली विवरण तयार पारेर राईलाई नेपाली नागरिकताको प्रमाणपत्र बनाउन सहयोग गरेको बताइएको छ ।