बरियारपुर,कलैया उपमहानगरपालिकाले निषेधाज्ञाको समयमा पनि लक्षित वर्गको कार्यक्रम संचालन गरेर बजेट दुरुपयोग गरेको तथ्य बाहिर आएको छ । जिल्लामा कोरोना महामारीका कारण निषेधाज्ञा जारी रहेकै बेला उपमहानगरपालिकाले विभिन्न वडामा लक्षित वर्गको जनचेतनामुलक कार्यक्रम संचालन गरेको समाजिक तथा पन्जीकरण शाखा प्रमुख तपसी चौरसियाले जानकारी दिनुभयो । कोरोना महामारी र निषेधाज्ञा जारी भएको समयमा संचालन गरिएको कार्यक्रम निष्प्रभावि रहेको सरोकारवालाहरुले बताएका छन ।

 

जिल्लामा बैशाख २३ गतेदेखि निषेधाज्ञा लागू गरिएको र सो अवधिमा २५ जनाभन्दा बढी उपस्थिति नहुन भन्दै जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको निर्देशनको उल्लंघन गर्दै उपमहानगरपालिकाले बजेट पचाउन विभिन्न गैरसरकारी संघ संस्थामा लक्षित वर्गको कार्यक्रमको रकम निकासा गरेर कार्यक्रमको रकम हिनामिना भएको हो । निषेधाज्ञा अवधिमा उपमहानगरपालिकाको कुन वडामा कहिले र कसरी कार्यक्रम संचालन गरियो भने बारेमा जानकारी लिन खोज्दा कार्यालयका लेखा फाँटका सहायक सुनिल यादबले सूचनाको हक प्रयोग गरेपछिमात्र जानकारी दिन सकिने भन्दै जानकारी दिन अस्वीकार गर्नुभयो । यादबले कार्यक्रम संचालन भए नभएको बिषयमा आफुले नगर प्रमुख र कार्यलय प्रमुखलाई मात्र जानकारी दिने प्रतिक्रिया पनि दिनुभयो ।

समाजिक तथा पन्जीकरण शाखा प्रमुख चौरसियाले भने कार्यक्रमको आफैले अनुगमन गरेको र कुनै अनियमितता नभएको बताउनुभएको छ ।

 

कोरोना महामारीबीचमा पनि कलैया उपमहानगरपालिकाले आफ्नो सम्पर्कमा रहेका संस्थामार्फत विभिन्न वडाहरुमा कार्यक्रम संचालन गरेको थियो । स्रोतकाअनुसार वडा नम्बर २३ मा परिवर्तनशील समाज तेलकुवाले युवा व्यवासायिक तथा क्षमता अभिमुखिकरण, वडा नम्बर २६ र २७ मा बाल अधिकार र दहेज प्रथा नियन्त्रण तथा वडा नम्बर १९ मा महिला हिंसा न्यूनीकरण सम्बन्धी तालिम संचालन गरेको थियो । त्यसैगरी वडा नम्बर ७ मा गर्भवती महिलाको पोषण कार्यक्रम, वडा नम्बर १५,२१ र २२ मा लैङ्गकि समानता तथा समावेसीकरण जस्ता तालिम कार्यक्रम संचालन गरिएको थियो । कोरोना महामारीमा आफुहरुलाई कुनै जानकारी नै नदिइ नाममात्रको कार्यक्रम संचालन गरेर रकम हिनामिना भएको स्थानीयले बताएका छन ।

आर्थिक चलखेलमा परेर कलैया उपमहानगरपालिकाले गत आर्थिक वर्षमा संचालन गरेको लक्षित वर्गको कार्यक्रम प्रभावकारी हुन नसकेको पनि स्थानीयहरुले गुनासो गरेका छन ।

Leave a Reply