नरेश गुप्ता

बरियारपुर,बिगत लामो समयदेखि पानी नपरेपछि धान रोपाइँ गर्न नसकेका बाराका किसानहरु बुधवारबाट पानी पर्न थालेपछि हर्षित भएका छन । पानी नपरेपछि पम्पिङ्ग सेटमार्फत खर्च गरेर किसानले केही ठाउँमा धान रोपाइँ गरेका छन । असार मसान्तभित्र धान रोपाइँ गरिसक्नु पर्ने भएपनि पानी नपरेपछि अहिलेसम्म धान रोपाइँ गर्न नसकेको महागढीमाई नगरपालिका वडा नम्बर ५ का रितलाल साहले बताउनुभयो । कृषि ज्ञान केन्द्र बाराको तथ्यांक अनुसार अहिलेसम्म बारामा ६० प्रतिशतमात्र धान रोपाइँ भएको कार्यालय प्रमुख जितेन्द्रदेव यादवले बताउनुभयो । धान रोपाइँकोलागि ब्याडमा राखिएको बिउ बुढो भएको र खेतमा पानी नभएपछि रोप्न नसकेको अर्का कलैया उपमहानगरपालिका रामपुरका अर्का किसान माली भगतले बताउनुभयो । बिगत लामो समयदेखि पानी नपरेको कारण रोपाइँ गरिएको धान खेतमा पनि धाँजा फाटेर चिरा परिसकेको किसानहरु बताउँछन् ।समयमा बीउ, मलखाद र सिँचाईको अभावमा बारा जिल्लाका अधिकांश किसानहरुले वर्षौदेखि आकासे पानीको भरमा खेती गर्दै आएका छन । नेपाल सरकारले कृषि क्षेत्रको विकास तथा आधुनिकीकरण गर्नको लागि बर्षेनी करोडौं बजेट खर्च गर्दै आएको भएपनि किसानको समस्या समाधान हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here