वीरगञ्ज –  रसुवाको भोटेकोसीमा भाद्र १० गते आएको बाढीपछि सम्पर्कविहीन भएका पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाका दुई जनाको परिवारले आज कुशको पुतला (प्रतीकात्मक शव) बनाएर अन्तिम संस्कार गरेका छन् ।
बाढीका क्रममा नुवाकोटबाट सम्पर्कविहीन भएका कालिकामाई गाउँपालिका–०१ निवासी १९ वर्षीय आरभ चौरसिया र कालिकामाई गाउँपालिका– २ निवासी २८ वर्षीय आलोक चौरसिया हालसम्म फेला नपरेको तथा सम्पर्कमा पनि नआएको परिवारजनले बताएका छन् ।

लामो समयसम्म खोजतलास तथा प्रतीक्षापछि अब भेटिने आशा न्यून भएको भन्दै परिवारले धार्मिक परम्पराअनुसार कुशको शव बनाई अन्तिम संस्कार गरेको जनाइएको छ । स्थानीयका अनुसार बेपत्ता दुवै जनाको अवस्था अज्ञात रहेकाले परिवार शोकमा डुबेको छ । परिवारजनले घटनाबारे सम्बन्धित निकायसँग समन्वय गरी खोजी कार्यलाई थप प्रभावकारी बनाउन पनि आग्रह गरेका छन् ।

Leave a Reply