कोल्हबी,बाराको कोल्हबी नगरपालिकाका अतिविपन्न र असक्तलाई शनिवार न्यानो कपडा र सरसफाइका सामग्री वितरण गरिएको छ ।
गोर्खा वेलफेयर ट्रस्ट नेपाल र उत्थानशील खानेपानी सरसफाइ तथा विपद तयारी कार्यक्रम पोखराको सहयोगमा नगरपालिकाको वडा नम्बर ४ सपहीका अतिअसक्त, विपन्न र आर्थिक स्थिति न्युन भएका २ सय १४ घरधुरी परिवारमा न्यानो कपडा तथा सरसफाइ सामग्री वितरण गरिएको हो ।
वडा कार्यालय र सुर्योदय खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको समन्वयमा राहत सामग्री वितरण गरिएको हो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि एंव कोल्हबी नगरपालिकाका प्रमुख भरतबहादुर भण्डारीले डिटेल साबुन प्रतिव्यक्ति ५ पिस, सर्जिकल मास्क १ प्याकेट्, ब्याङ्गकेट र डसना वितरण गर्नुभएको हो ।
कार्यक्रममा कोल्हबी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भेषबहादुर ढकाल, गोर्खा वेल्फेयर ट्रस्ट नेपालका पृतम थापा, सपहीस्थित नेपाल राष्ट्रिय मावि व्यवस्थापन समितिका अध्यक्ष तपेश्वर राय थारु, वडा सदस्य कालिका विक, कोपिला भण्डारी, देवकान्त चौधरी, राम वृष चौधरी समाजसेवी, बुद्धिजीवी र संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर भण्डारीले विपन्न र असक्त परिवारलाई राहत स्वरुप न्यानो कपडा र सरसफाइका सामग्री वितरण गरेको बताउनुभयो । उहाँले नगरका अन्य उपभोक्तालाई सामग्री वितरण गर्ने जानकारी दिनुभयो । सुर्योदय खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष नेत्रप्रसाद पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन दिपेन्द्र सुवेदीले गर्नुभएको थियो ।