सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयका कर्मचारीहरूले अबदेखि तोकिएको पोशाक र परिचयपत्र अनिवार्य रूपमा लगाएर मात्र कार्यालयमा उपस्थित हुनुपर्ने भएको छ ।प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंद्वारा मंगलबार जारी सूचनामा कार्यालयमा कार्यरत स्थायी तथा करार कर्मचारीहरुले तोकिएको पोशाक र कर्मचारी परिचयपत्रको अनिवार्य व्यवस्था गरिएको हो ।

नगर कार्यपालिकाको कार्यालय विषयगत महाशाखा, शाखा, उपशाखा, अस्पताल, स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी तथा वडा कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूका लागि यो नियम लागू हुने सूचनामा उल्लेख छ ।
तोकेको पोशाक र परिचयपत्र बिना कार्यालयमा बारम्बार उपस्थित हुने कर्मचारीहरूलाई आवश्यक अनुशासनात्मक कारबाही गरिने सूचनामा उल्लेख छ । शुक्रवारको दिन बाहेक अन्य दिनमा तोकिएको पोशाक र परिचयपत्र अनिवार्य रूपमा लगाउन आग्रह गरिएको छ ।

यसैगरी अनिवार्य रूपमा डिजिटल प्रणाली (ई–हाजिरी) र हाजिरी पुस्तिकामा उपस्थिति जनाउन निर्देशन दिइएको छ । नगर प्रहरीको हकमा पनि उपमहानगरपालिकाले तोकेको पोशाक लगाएर मात्र कार्यस्थलमा खटिनुपर्ने स्पष्ट गरिएको छ ।
उपमहानगरपालिकाले सेवा प्रवाहमा एकरूपता, अनुशासन र उत्तरदायित्व कायम गर्न यो निर्णय गरेको प्रशासन शाखा प्रमुख बालाराम खड्काले जानकारी दिनुभयो ।

Leave a Reply