नेपाली दिदी बहिनीहरुको महान पर्व हरितालिका वा तीज पर्व आज परेको छ । तीजको कुरा गर्दा यो पर्व यही बेलादेखि सुरु भएको भन्ने ठ्याक्कै मिति निर्धारण त गर्न सकिँदैन तैपनि यो भारत वर्ष विशेष गरी उत्तर भारत एवं नेपालमा पौराणिक कालदेखि नै चलिआएको बुझ्न सकिन्छ ।नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक सहर–बजार मात्र होइन गाउँ–गाउँमा पनि उत्तिकै देख्नपाइन्छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्छन् । यद्यपि समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ । तर पनि यसको महत्वमा कुनै कमी देखिँदैन । हिजो आज सहरी क्षेत्रको तीज भड्किलो हुँदैछ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । फलस्वरूप तीज केही उत्ताउलो हुन थालेको र यसको मौलिकता हराउन थालेको गुनासो पनि हुन थालेको छ ।
हिन्दू नाराीहरुको पर्व भनिएपनि यो चाड भारत र अन्य हिन्दू धर्माम्बलीहरुको बसोबास भएको राष्ट्रमा भन्दा नेपालमै बढी चलेको पाइन्छ । नेपाली समाजमा यो पर्वको मौलिक स्वरूप विकास भएको हुनाले तीज विशुद्ध नेपाली पर्व हो र यो नेपालका महिलाहरूले मात्र मनाउँछन् भन्न सकिन्छ ।नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको इतिहासलाई बोकेको छ जुन विभिन्न रूपले यो पर्वमार्फत प्रकट हुन्छ । धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भै महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् ।तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तीजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । कोरोना कहर पछिको यो वर्षको तीज असोजमा परेपनि रौनक भने एक महिना अगाडि देखि नै थियो । जे होस् हरितालिका तीजको अवसरमा सबै दिदी बहिनीमा हार्दिक शुभकामना ।