पुष्पराज खतिवडा

मनहर्वा, जीतपुरसिमरा उपमहानगरपालिकाको पटक पटक स्थगित हुदै आएको नगरसभा शनिवार हुने भएको छ ।

यसअघि असार १० र १३ गतेका लागि बोलाइएको नगर भा नीति तथा कार्यक्रम र बजेटको विषयमा कार्यपालिका सदस्यहरुबीच सहमति नहुँदा स्थगित भएको थियो ।

गत विहिवार बसेको कार्यपालिका बैठकमा नीति तथा कार्यक्रम र बजेटका विषयमा सहमति भएपछि नगरसभाको मिति तोकिएको हो ।

बैठकमा नगर प्रमुख राजन पौडेलले प्रस्तुत गरेको वार्षिक योजना, कार्यक्रम र बजेटका विषयमा छलफल भएको थियो । यसअघि प्रस्ताव गरिएको वडाको सिलिङलाई परिमार्जन गर्दैै नगर प्रमुख पौडेलले रकम थप गरेर बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

आर्थिक वर्ष २०७९÷८० का लागि अनुमानित करिब एक अर्ब ५६ करोड बजेटमध्ये ३२ करोड वडाको सिलिङ्गको लागि प्रस्ताव गरिएको छ ।

यसअघि नगर प्रमुख पौडेलले पहिलो पटक २८ करोड र दोस्रो पटक ३० करोड रकम छुट्याउदै कार्यपालिका बैठकमा वडाको बजेट सिलिङ्ग प्रस्ताव गर्नुभएको थियो. ।

कार्यपालिका सदस्यहरुले. तीव्र असहमति जनाएपछि प्रमुख पौडेलले यसअघि राखेको उक्त प्रस्ताव बैठकमा छलफल हुन सकेको थिएन् । दोस्रो पटकमा पनि नगर प्रमुख पौडेलले कार्यपालिकामा बजेट सिलिङ्गबारे छलफल नगरी नगरसभा बैठक बोलाउनुभएको र कार्यपालिका सदस्यले विरोध जनाएपछि दोस्रो पटकको सभा पनि स्थगित भएको हो ।

लामो समय अन्यौलमा रहेको नगरसभाको बारेमा टुंगो लगाउन बिहीवार कार्यपालिका सदस्यहरुबीच अर्को बैठक बसेको थियो ।

बैठकमा नगर प्रमुख पौडेलले भुगोल र जनसंख्याका आधारमा २४ वटा वडालाई ३२ करोड रकमको सिलिङ प्रस्ताव गर्नुभएको छ । सो प्रस्ताव अनुसार सबैभन्दा बढी बजेट प्राप्त गर्ने वडा नम्बर १६ र सबैभन्दा कम बजेट प्राप्त गर्ने वडा नम्बर १३ रहेका छन । वडा नम्बर १६ ले दुई करोड तीन लाख २४ हजार एक सय ५७ र वडा नम्बर १३ ले एक करोड पाँच लाख २१ हजार सात सय ३५ रुपैया वडा सिलिङ प्राप्त गर्नेछन् ।

जीतपुरसिमरा उपमहानगरपालिकामा कार्यपालिकामा उपप्रमुखसहित नेकपा एमालेको बहुमत रहेको छ । मेयर पौडेल भने नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुनुभएको हो ।

Leave a Reply