निजगढ,निजगढ ७ स्थित जनज्योति सामुदायिक वन उपभोक्ता समूहले स्थानीय सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक र निजी स्रोतका शिक्षकहरुलागि आर्थिक सहयोग गरेको छ ।
वन समूहले विद्यालयका ११७ जना विद्यार्थीलाई एक÷एक थान ट्याक सुट र निजी स्रोतका शिक्षकहरुको लागि तलबबापत १ लाख ३० हजार रुपैया अनुदान सहयोग गरेको हो ।

विद्यालयमा शुक्रवार भएको कार्यक्रममा वन समूहका अध्यक्ष खडकबहादुर मोक्तान, सचिव रामकुमार सिञ्जाली र कोषाध्यक्ष भवानी श्रेष्ठले विद्यार्थीहरुलाई पोशाक र प्रधानाध्यापक उमेश स्वर्णकारलाई शिक्षा अनुदानबापत १ लाख तिस हजार रुपैयाको चेक हस्तान्तरण गरेका थिए ।
वन समूहको वार्षिक कार्ययोजनाअनुसार सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत २४० जना मध्ये ११७ जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई पोशाक र शिक्षा अनुदानबापत निजी स्रोतबाट तलब खाने शिक्षकहरुको लागि आर्थिक सहयोग गरेको हो । बाँकी विद्यार्थीहरुको लागि भने विद्यालयले आफ्नै स्रोटबाट खर्चेर पोशाक उपलब्ध गराएको छ ।
विद्यालयमा निजी स्रोतका ७ जना शिक्षक कार्यरत छन । वन समूहले शिक्षाको गुणस्तर अभिवृद्धिको लागि विद्यार्थीलाई पोशाक र शिक्षकहरुको तलबको लागि आर्थिक सहयोग गरिएको समूहका अध्यक्ष खडकबहादुर मोक्तानले जानकारी दिनुभयो ।कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष घनश्याम लम्साल, वन समूहका सदस्य गोविन्द बजगाई, खडकबहादुर लामा, ललिमाँया लामा, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।



















