नरेश गुप्ता

बरियारपुर,बारा जिल्लामा महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यलय बारा अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रले दिइएको जानकारी अनुसार बारामा महिला, बालबालिका, ज्येष्ठ नागरिक गरि आर्थिक वर्ष ०७८÷०७९ को असार मसान्तसम्ममा २ सय ७९ जना बालबालिका र महिला हराएको उजुरी परेको छ ।

हराएको बालबालिका र महिला मध्ये असारसम्म १ सय २९ जना फेला पारी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो । आर्थिक वर्षको असारसम्म महिला १३३, बालिका १२४, बालक १८ र ज्येष्ठ नागरिक ४ जना हराएको उजुरी सेवा केन्द्रमा परेको महिला सेलकी बरिष्ठ प्रहरी नायब निरीक्षक अशोक कुर्मीले जानकारी दिनुभयो । बारामा महिला र बालबालिका हराउने मुख्य कारणमा परिवारको लापरबाही, गरिबी, खानलाउन नदिने, कामको खोजीमा बाहिर जाने र घुमफिरको क्रममा नयाँ ठाउँमा जादा बालकालिकाहरु हराउने गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

महिला तथा बालबालिका हराएको सूचना समयमा पाएको खण्डमा प्रहरीले खोजी कार्यमा तीव्रता देखाएर काम गर्ने गरेको प्रहरी प्रवक्ता थापाले जानकारी दिनुभयो ।

Leave a Reply