मनोज साह
जीतपुर,नयाँ वर्षको अवसरमा सहयोगी हात नेपालले बाराको जीतपुर बजारमा निःशुल्क भोजन सेवाको शुरुवात गरेको छ ।
गरिब तथा असहाय व्यक्तिको लागि हरेक शनिवार बिहान ९ बजेदेखि ११ बजेसम्म निःशुल्क रुपमा भोजन उपलब्ध गराउने गरी सेवा शुरु गरिएको हो । नयाँ वर्षको शुरुवात नयाँ योजनाका साथ गर्ने उद्देश्यले सहयोगी हात नेपालले शनिवार करिब २ सय जनालाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित काँटा (पाराबजार) मा निःशुल्क भोजन वितरण गरेको सहयोगी हात नेपालका सदस्य मनोज पासवानले बताउनुभयो
यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिईने पासवानको भनाई छ । कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश सदस्य माननीय देवनारायण चौधरीले सहयोगी हात नेपालले उदाहरणीय कार्य गरेको र गरिब–असहायलाई भोजन खुवाउने कार्य अति उत्तम रहेको भन्दै संस्थाका सम्पुर्ण सदस्यलाई धन्यवाद व्यक्त गर्नुभयो ।कार्यक्रममा विशिष्ट अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला अधिकारी र साविक जीतपुर गाविसका अध्यक्ष कृष्णव्रत सिंहले संस्थाले उदाहरणीय काम गरेको र यसले निरन्तरता पाउनुपर्नेमा जोड दिएका थिए । सहयोगी हात नेपालका संरक्षक मनोजकुमार साहले समाजबाट सहयोग पाउनका लागि समाजलाई सहयोग गर्नुपर्छ भन्ने सोचका साथ योजना शुरु गरिएको बताउनुभयो । निःशुल्क भोजन सेवा जुनसुकै ठाँउको जो कोहीले लिन सक्ने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा युवा नेता राजुराज गिरी, समाजसेवी मनिर अंसारी, माओवादी नेता प्रेम बराल, ठेला संघ जीतपुरका अध्यक्ष महेन्द्र पासवान, महिला नेतृ सेल्मुन नेसा, जीतपुर युवा क्लबका अध्यक्ष भुनेस पासवान, राष्ट्रिय युवा संघ नेपाल नगरका सचिव अयुब अंसारी लगायतको उपस्थिति रहेको थियोे ।
सहयोगी हात नेपालका अध्यक्ष देवान साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण संचारकर्मी एसएस पटेलले गर्नुभएको थियो ।यसैगरि वीरगञ्जको माइस्थानमा पनि शनिवार निशुल्क रुपमा खाना खुवाइएको छ । वीरगञ्जका व्यवसायी तथा समाजसेवीहरुले मिलेर नयाँ वर्षको अवसरमा सर्वसाधारण तथा सो क्षेत्रमा आवतजावत गर्नेहरुलाई निशुल्क रुपमा खाना खुवाइएको हो ।समाजसेवीहरु अशोक गुप्ता, प्रकाश बाहेती, राधेश्याम कानु, हरेन्द्र सहनीसँगै मनोज रौनियार लगायतले नयाँ वर्षदेखि नयाँ सामाजिक कार्यको थालनी गरेका हुन् । अबदेखि प्रत्येक साताको शनिवार निशुल्क रुपमा खाना खुवाउने योजना रहेको व्यवसायीसमेत रहेका रौनियारले बताउनुभयो । रौनियारका अनुसार पहिलो दिन ३ सय जनाले निशुल्क रुपमा खाना खाएका थिए ।


















