कुनै पनि मान्छे जन्मन्छ अनि मृत्युवरण गर्छ । त्यो प्रकृतिको नियम नै हो । यो नियमलाई तोड्न सक्ने चीज अहिलेसम्म संसारमा बनेको छैन । संसारका सबै महापुरुषहरु एक दिन न एकदिन संसार छोडेर जानु नै पर्दछ । कुनै पनि व्यक्तिका लागि आफ्नो परिवारका सदस्य महान र महत्वपूर्ण नै हुन्छन । सामान्य परिवारमा जन्मिएको भए पनि र विशिष्ठ परिवारमा जन्मिएको भए पनि । उसले जीवनमा गरेका कामहरुरुको भने युगौंयुगसम्म पनि संझना गर्न लायक हुन्छ ।
कृपा दैनिक पत्रिकाका प्रधान सम्पादक नवराज उपाध्यायका विषयमा आज सम्पादकीयमा उहाँप्रति श्रद्धासुमन अर्पण गर्दैगर्दा उहाँले गर्नुभएका कामहरुको विषयमा यसै पनि चर्चा भएका छन् । हो, पत्रिका आम नागरिकहरुको सरोकार राख्ने निकाय हो तर कहिलेकाँही आफ्नै व्यक्तिको विषयमा कुरा गर्दा पनि अन्याय हुँदैन होला भन्ने नै ठहर हो ।
नवराज उपाध्यायले आफ्नो जीवनकालमा समाज परिवर्तनको लागि थुप्रै काम गर्नुभएको छ । यो आफैमा पनि एक प्रशंसायोग्य कुरा हो । नवराज उपाध्यायले आफ्नो जीवनकालमा गर्नुभएका कतिपय परिवर्तनकारी कदमहरु अरुका लागि पनि प्रेरणा पक्कै भएको छ र हुनेछ । उहाँले पढाउनु भएका उहाँकै विद्यार्थीहरु आज उच्चओहदामा रहेका छन् । उहाँको भौतिक शरीरको अन्त्य भए पनि उहाँले समाजमा छाड्नु भएको योगदानको भने सदैव यो समाजले स्मरण गरिरहनेछ । कृपा दैनिकका प्रधान सम्पादक उपाध्यायप्रति कृपा दैनिक परिवार भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछ ।