निजगढ,५७ औं बाल दिवसको अवसरमा निजगढ नगरपलिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले मंगलबार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

‘सामान्य अवस्था वा कोभिड माहामारीः बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ बालबालिकाहरुसग नगरपालिकाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा सहभागी निजगढ नगरपालिका वडा न ८ की कक्षा ८ मा अध्ययनरत छात्रा कृतिका धितालले नगरपालिकाले बालमैत्री नगर घोषणा गर्ने गरी कार्यक्रम ल्याएकोमा खुसी व्यक्त गर्दै नगर क्षेत्रभित्रका सबै बालबालिका समक्ष पुग्ने गरी कार्यक्रम संचलन गर्न अनुरोध गर्नुभयो । त्यस्तै वडा न ३ की इश्वरी तिमल्सिनाले बाल सन्जालका बालबालिकालाई सम्बन्धित शाखाबाट बिशेष समय दिएर सहयोग गर्नु पर्ने बताउदै नगरभित्र रहेका बालबालिकामाथि हुने गरेका शोषण, बाल श्रम रोक्नु पर्ने र कुनै पनि बालबालिकालाई शिक्षाबाट बन्चित पार्न नहुने बताउनुभयो । यसको लागि नगरपालिकाले वातावरण तयार पार्नु पर्ने बताउनुभयो ।

त्यसैगरी कक्षा १२ मा अध्ययनरत वडा नम्बर २ की एक बालिकाले कोभिड १९ जारी रहेकै अवस्थामा नगरभित्र विद्यालय संचालनमा आएको र विद्यालयमा स्वास्थ्य सुरक्षा मापदण्ड पुरा भए नभएको सम्बन्धमा नगरपालिकाबाट नियमित अनुगमन हुनुपर्ने बताउनुभएको थियो । निजगढ वडा नम्बर ६ की कक्षा १२ मा अध्ययनरत छात्रा रोशिना गौतमले विभिन्न कारणले विद्यालयबाट बन्चित बालबालिकालाई नगरपालिकाको पहलमा पढ्ने व्यवस्था मिलाउनु पर्ने बताउनु भएको थियो । वडा नम्बर ११ मन बाल सन्जाल सदस्य सुजन दाहालले नगर क्षेत्रभित्र बाल श्रम तथा बाल शोषण अन्त्य गर्न बिशेष कार्यक्रम ल्याउनु पर्ने बताउनु भएको थियो ।

त्यस्तै वडा नम्बर ८ बाट बाल सन्जलका सदस्य सदिक्षा कार्कीले स्थानीय जनप्रतिनिधिले बालबालिकाको समस्यामा नगरपालिकाले चासो नदिएको गुनासो राख्नुभएको थियो । कक्षा ११ मा अध्ययनरत प्रज्वल पुडासैनीले निजगढलाई बालमैत्री नगरपालिका तत्काल बनाउनको लागि पहल गर्न अनुरोध गर्नुभएको थियो ।

नगर प्रमुख सुरेशकुमार खनालको अध्यक्षतामा भएको सो कार्यक्रममा उपप्रमुख लिलादेवी लामिछाने खनाल र प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीको बिशेष उपस्थित रहेको थियो । अन्तक्रिया कार्यक्रममा वडा अध्यक्ष केशवप्रसाद उपाध्याय ढोडारी, ज्ञानबहादुर गोले तथा कार्यपालिका सदस्यहरु लक्ष्मी गौतम, जगतकुमारी अधिकारी, सरिता राई र पवन बिकको उपस्थिति रहेको थियो ।

बरियारपुरबाट नरेश गुप्ताका अनुसार ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा बारामा मंगलबार विभिन्न कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा महिला उत्थान तथा बिकास नेपाल बाराको आयोजना र महागढीमाई नगरपालिकाको सहयोगमा नगरपालिकाभित्रका माध्यमिक तहको संस्थागत तथा सामुदायि विधालयका छात्रछात्रबीच हाजरिजवाफ प्रतियोगिताको आयोजना गरिएको थियो । सो अवसरमा महागढीमाई नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुदामा साह कानुले मैनबत्ति बालेर प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो ।

राष्ट्रिय बाल दिवस कार्यक्रममा बोल्दै महागढीमाई नगरपालिका शिक्षा शाखा प्रमुख रामबिश्वाश चौरसियाले बाल अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभयो । राष्ट्रिय बाल दिवसमा विद्यार्थीको लागि विभिन्न कार्यक्रम गराएर उनीहरुको मनोबल बढाउनु पर्ने बताउनुभयो ।

हाजिरीजवाफ प्रतियोगितामा श्रीगढीमाई महेन्द्र माध्यमिक विद्यालय प्रथम, भोला माध्यमिक विद्यालय व्दितीय र ज्योति पाराडाईज सकेण्डरी स्कुलका छात्रछात्राले तेस्रो स्थान हांसिल गरेका छन । बिजयी विद्यालय र विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । सो अवसरमा गढीमाई बहुमुखी क्याम्पसका प्राध्यापक धर्मेन्द्र यादव, शिक्षक दिनेश कुशवाहा, सुरेन्द्र कुशवाहालगायत विभिन्न विद्यालयको छात्र छात्राहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी राष्ट्रिय बाल दिवसको अवसरमा नेशनल प्याब्सन बाराको आयोजनामा बाराको जीतपुरसिमरास्थित लोटस एकाडेमीमा संस्थागत विद्यालयका प्राथमिक तहका विद्यार्थीहरुको लागि वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको नेशनल प्याब्सन बाराका अध्यक्ष प्रभुलाल कुशवाहाले बताउनुभयो ।

त्यसैगरी बाल दिवसको अवसर पारेर कलैया उपमहानगरपालिका खम्वास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा चित्रकला, हाजरिजवाफ प्रतियोगिता सम्पन्न भएको विद्यालयका शिक्षक तेजनारायण जैसवालले जानकारी दिनुभयो ।

सेढवाबाट कृष्ण मोहन साहका अनुसार ठोरी गाउँपालिका वडा नम्बर ४ मा रहेको विजयबस्ती माध्यमिक विद्यालयले बालदिवस भव्यताका साथ मनाएको छ । विद्यालयले खेलकुद कार्यक्रमहरुको आयोजना गरी दिवस मनाएको विद्यालयका प्रधानाध्यापक नारायण लामाले बताउनुभयो । विद्यालय प्राङ्गणमा मंगलबार सम्पन्न खेलकुद कार्यक्रममा आधारभूत तहका छात्रछात्राहरुले भाग लिएका थिए ।

सियोधागो खेलमा कक्षा ७ की छात्रा सञ्जु श्रेष्ठ प्रथम भएकी थिइन् भने द्वितीय तथा तृतीय स्थान कक्षा ७ कै क्रमशः आशा श्रेष्ठ र आकृति श्रेष्ठले हात पारेकी थिइन । त्यस्तै हिसाब दौड प्रतियोगितामा कक्षा ५ का सन्दीप श्रेष्ठ, निकेश श्रेष्ठ एवम् जीवन तामाङले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हात पारेका छन । यस्तै म्युजिकल चेयर खेलमा कक्षा ६ का मिनबहादुर श्रेष्ठ प्रथम, कक्षा ४ की आस्था श्रेष्ठ द्वितीय र कक्षा ६ का वसन्त श्रेष्ठ तृतीय भएको विद्यालयले जनाएको छ । त्यसैगरी कक्षा ३ को साधारण दौडमा रोज श्रेष्ठ प्रथम, सर्मन श्रेष्ठ द्वितीय र आयुस श्रेष्ठ तृतीय भएका थिए भने कक्षा १ तथा केजी कक्षका विद्यार्थीबीच भएको दौडमा कक्षा १ का सफल श्रेष्ठ प्रथम, केजीका प्रवीण लामा द्वितीय तथा केजीकी मौसमी बोमजन तृतीय भएका छन ।

प्रतियोगिताका विजयी छात्रछात्रालाई प्रधानाध्यापक लामाले परस्कार वितरण गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here