कलैया,लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार कार्यको अन्त्य गर्न बारामा सचतेना अभियानसहितको र्याली निकालिएको छ ।

लागुऔषध दुरुपयोग विश्वमा ठूलो समस्या रहेको र सोको अन्त्यको लागि जिल्लामा अभियान सुरु भएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताउनुभयो । अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ कटुवालले लागुऔषध प्रयोगबाट निस्कने परिणाम डर लाग्दो हुने तथा यसले व्यक्ति, परिवार, समाज, राजनीति, राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमासमेत खतरा उत्पन्न गरेको बताउनुभयो ।

लागुऔंषध मादक पदार्थ (रक्सी) भन्दा दशौं गुणा हानिकारक हुने गरेको प्रजिअ कटुवालले जानकारी दिनुभयो । टोल छिमेकमा अवैध रुपमा रक्सी बिक्री हुने गरेका कारण आमा समूहबाट समेतको यसको विरोध भएको उहाँले बताउनुभयो ।

खुल्ला सीमा क्षेत्रहरुमा समेत देशका युवाहरुको लागुऔषधको दुव्र्यसनीमा परेको र यसलाई रोक्न कडा रुपमा प्रहरीलाई निर्देशन दिएको उहाँले बताउनुभयो । उहाँले नेपाली समाजका आमा समूह, टोल सुधार समिति, मानव अधिकारवादी, समाज सुधारकहरुले गम्भीर रुपमा यसलाई लिनु पर्ने अन्यथा बालबालिकाहरु कुलतमा फस्न सक्ने बताउनुभयो ।

उहाँले उद्योग धन्दा खोलेर युवाहरुलाई रोजगार दिनुपर्ने अवस्थामा दुव्र्यसनी बढेका कारण पुनःस्थापना केन्द्र खोल्नु पर्ने अवस्था आएको बताउननुभयो ।

कार्यक्रममा कलैया उपमहानगरपालिकाका मेयर बिनोद साह, सशस्त्रका प्रहरी उपरीक्षक राजेन्द्र थापा, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापा, समुदाय प्रहरी कलैयाका अध्यक्ष महमद सगिर, समुदाय प्रहरी कलैयाका सचिव जङ्गबहादुर यादव, नागरिक समाज बाराका अध्यक्ष उमेश लाल दास, महिला अधिकारकर्मी बबिता जयसवालसहित विभिन्न विद्यालयका छात्रछात्रा र प्रहरी प्रशसासनको उपस्थिति रहेको थियो ।

Leave a Reply