निजगढ,निजगढ नगरपालिकाले चालु आर्थिक वर्षको लागि आह्वान गरेको ढुङ्गा, गिटी र बालुवा उत्खनन तथा निकासी टेण्डरमा दुई कम्पनीले मात्र बोलपत्र पेस गरेका छन ।
कलैयास्थित बिनोद साह निर्माण सेवा र निजगढको हिमानी सप्लायर्सले चालु आर्थिक वर्षको लागि नगरपालिकाव्दारा आह्वान भएको नदीजन्य पदार्थ उत्खनन तथा निकासीको लागि बोलपत्र पेस गरेका हुन । गत वर्ष ४ वटा कम्पनीले बोलपत्र पेस गरेको भएतापनि चालु आर्थिक वर्षको लागि २ वटा कम्पनीले मात्र बोलपत्र बुझाएका हुन । इ बिडमार्फत बोलपत्र पेस गर्ने कम्पनीको नाम बिहीबार सार्वजनिक गरिएको भएपनि ठेक्का सकार गर्ने कम्पनीको नाम भने अझै टुङ्गो लागेको छैन । ‘अझै केही प्रकृयागत काम बाँकी छ, नगरपालिका सूचना अधिकृत रविन घिमिरेले भन्नुभयो, सबै काम पुरा गरेर एकसाताभित्र सबैभन्दा बढी रकम कबोल गर्ने कम्पनीलाई ठेक्का दिइने छ ।’
नगरपालिकाले निजगढको बकैया, सिगौलको धन्सार, बगरे र रतनपुरको लाल, शक्ति र भक्तलालसमेत गरी ५ वटा नदीबाट गिटी बालुवा र ढुङ्गा उत्खनन र निकासीको लागि साउन १९ गते सूचना सार्वजनिक गरेको थियो । डिभिजन वन कार्यालय बाराको असहमतिपछि उत्पन्न विवादका कारण नगरपालिकाले यसअघि बोलपत्र पेस गर्ने समय २ पटकसम्म सारेको थियो । निजगढ नगरपालिकाले नियम विपरित चुरे र वन क्षेत्रभित्र पर्ने नदीमा पनि आईई गरेर ढुङ्गा गिटी र बालुवा उत्खनन र निकासी गर्न लगाएको भन्दै डिभिजन वन कार्यालय बाराले विरोध जनाउदै आएको छ । सोही विवादमा राष्ट्रपती चुरे संरक्षण विकास समितिको एउटा टोलीले समेत प्रस्तावित उत्खनन क्षेत्रको अध्ययन÷निरीक्षण गरेको थियो ।
जिल्ला समन्वय समिति बाराले निजगढ नगरपालिकालाई प्रचलित कानुनअनुसार नदीजन्य पदार्थ उत्खनन तथा निकासी ठेक्का लगाउन निर्देशन गरेपछि ठेक्का प्रकृया अघि बढाउने ढोका खुलेको हो ।
नगरपालिकाले सिगौलको बगरे र रतनपुरको लाल, शक्ति र भक्तलालमा यो वर्ष पहिलो पटक उत्खनन र निकासी ठेक्का लगाएको हो । डिभिजन वन कार्यालयले भने उक्त क्षेत्रका नदीहरु वन कार्यालय माताहात पर्ने भएकोले वन कार्यालयको स्वीकृति र सहमतिमामात्रै अईई गर्नु पर्ने र ठेक्का लगाउनु पर्ने बताउदै आएको छ ।