कृष्ण मोहन साह

सेढवा,पर्साको ग्रामीण क्षेत्रमा बन्द भएको गाँजाको खेती फेरि शुरु भएको छ ।

प्रहरी प्रशासनले नियन्त्रणको लागि कडा कारबाही थालेपछि पर्सामा २०६७ साल देखि पूर्ण रुपमै बन्द भएको गाँजा खेती अहिले भने फेरि शुरु भएको हो । पर्साको सोनवर्षा, शंकरसरैया, पटेर्वासुगौली, सुवर्णपुर, मधुवन मथवल, निर्मलवस्ती, बिजय बस्ती, निचुटा, प्रसौनीविर्ता, सखुवा प्रसौनी, गादी, बागेश्वरी तित्रौना लगायतका साबिकका गाविसहरुमा किसानहरुले गाँजा रोपेको स्थानीयबासीले बताएका छन् ।

चितवन राष्ट्रिय निकुन्ज र पर्सा राष्ट्रिय निकुञ्जको जंगलसंग सिमा जोडिएका साविकका गाविसहरुमा गाँजा खेती गरिएको छ । यस्तै वन अतिक्रमण गरिएको जग्गा र खोलाको बगरमा पनि कारोबारी र किसानहरुले गाँजा रोपेका छन् ।

७÷८ वर्ष देखि गाँजाको खेती बन्द भएका कारण पर्सामा गाँजाको बीउको अभाव भएपछि यहाँका किसानहरुले मकवानपुरका पहाडी गाउँबाट बीउ ल्याएर रोपेका हुन् । कतिपय स्थानमा भने किसानहरुले गाँजाका कारोबारीहरुको लगानीमा गाँजाको खेती गरेको गाँउलेहरुले बताएका छन् । कतिपय किसानहरुले बरेसाबारीमा र सुर्ती र उखु खेतीकोबीचमा पनि अबैध गाँजा खेती गरेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले भने आफुलाई गाँजा खेती भएको बारेमा कुनै जानकारी नभएको भन्दै तत्काल त्यस क्षेत्रमा गाँजा खेती फाड्न प्रहरी टोली परिचालन गरिने बताउनुभयो ।

यसैबीच सोमबार प्रहरीले पर्साको ठोरी गाउँपालिका वडा नम्बर ३ मा ठूलो परिमाणमा अबैध रुपमा लगाइएको गाँजा खेती फाडेर नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक प्रहलाद कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले ठोरी गाउँपालिका वडा नम्बर ३ ब्रहमनगरमा १२ बिगहा क्षेत्रको गाँजा खेती फाडेर गरेर नष्ट पारेको हो । त्यस क्षेत्रमा अझै पनि ठूलो परिमाणमा गाँजा खेती रहेकोले प्रहरीले फडानी कार्यलाई अभियानकै रुपमा संचालन गरी पूर्ण रुपमा नष्ट पार्ने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । गाँजा खेती कसले गरेको हो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।

Leave a Reply