पाठकबृन्द, आजभन्दा ठीक २१ वर्ष अगाडि बारा जिल्लाको कलैयामा प्रशासन कार्यालयमा रोपिएको कृपारुपी संचार पत्रिका आज युवा अवस्थामा प्रवेश गर्ने गरेको छ । अथवा कृपा दैनिक दुई दशकको यात्रा पार गर्दै अगाडि बढेको छ । बारा जिल्लाबाट प्रकाशित भएको सबैभन्दा पहिलो दैनिक पत्रिका पनि किशोर अवस्थाबाट युवा अवस्थामा प्रवेश गर्दैछ भन्न पाउदा हामीलाई आज गर्वको अनुभूति भइरहेको छ । हुनत मानिस जन्मन्छ, बाल्यकाल पूरा गर्दै जसरी किशोर अवस्थातिर प्रवेश गर्दछ त्यसरी नै पत्रिकालाई हुर्काउनको लागि पनि हामीले कम्ति संघर्ष पक्कै गर्न परेको छैन । तै पनि यहाँहरुको साथ, सद्भाव र ममताका कारण सबै पीडा भुलेर त्यो कठिन यात्रा पनि शितल छहारीमा बसे झैं लाग्ने गर्दछ ।

यहाँहरुले देखाउने ममताका कारण नै पत्रिका प्रकाशनमा झेल्न परेको पीडालाई भुसुक्क बिर्सनु परेको छ । यसो भन्दैमा पत्रिका संचालनका लागि चुनौती नै थिएनन् र छैनन् भन्ने पनि होइन ।

बाराको उर्वर भूमिमा पत्रिका प्रकाशन गरेर समाजलाई रुपान्तरण गर्ने अभियान साच्चै भन्ने हो भने फलामको चिउरा चपाउनु जस्तै थिए जुन त्यति सजिलै संभव हुने कुरै भएन । यद्यपि हामी यो जोखिम मोलेरै अगाडि बढ्यौं । बाराका नागरिकहरुको सूचनाको भोक मेटाउनका लागि फलामकै चिउरा चपाएर नै भएपनि यो अभियान संचालन गर्नुपर्छ भन्ने ठानेर कृपा प्रकाशन समूहले तपाईलाई सूचित गराउने लक्ष्य लियो र आज लगभग किशोर अवस्थामा प्रवेश गरेको छ । र २० वर्षदेखि निरन्तर तपाईको माझमा हामी अविचलित छौं ।

बारामा केही वर्षअघि मात्रै संचारको छापमा माध्यममा हामी मात्रै थियौं । जिल्लामा अब हामी एक्लै छैनौं । अहिले हामी जस्तै दैनिक पत्रिका पनि जिल्लाबाट प्रकाशनमा छन् । बारामा एफएम रेडियोहरु पनि गाउँगाउँमा खुलेका छन् । कृपा दैनिकले शुरु गरेको सूचनाको हक आम नागरिकसम्म पु¥याउने अभियानमा अन्य संचार माध्यामले पनि साथ दिएको हाम्रो बुझाइ छ । संचार माध्यामसंगै संचारकर्मीको पनि विस्तार र विकास हुनुमा कृपाको योगदान पनि उल्लेख्य छ । जिल्लाको संचार क्षेत्रमा भएको विकासले हामीलाई अझै बढी जिम्मेवार र अभिभाकत्वको भुमिकामा रहनका लागि झकझकाएको महसुस हुन्छ ।

जिल्लाको सबैभन्दा पुरानो दैनिक पत्रिका भएका नाताले हामी प्रकाशनमा सवालमा जस्तोसकै व्यवधान बेहोर्नु परे पनि पाठकको सूचना पाउने अधिकार र रहरलाई मर्न दिने छैनौं ।

यहाँहरुको अपार मात्रै होइन अनुपम ममता अनि साथ र सहयोगले नै कृपा दैनिक आज यो अवस्थामा पुगेको भन्न पाउदा हामीलाई निकै गर्वको महसुस हुन्छ । कृपा दैनिक बाराबाट प्रकाशन गर्नुको एक मात्र लक्ष्य भनेको नागरिकमा सूचनाको पहुँचमा पुर्याउनु नै थियो र यो लक्ष्यमा कृपा दैनिक सफल भएको छ भन्ने हामीलाई लागेको छ । तपाईहरुको साथ, सहयोग र सुभेच्छाले यो कुरालाई राम्ररी प्रमाणित पनि गरिसकेको छ ।

यस वर्षबाट प्रेस काउन्सिलले कृपा दैनिकलाई राष्ट्रिय पत्रिकामा सूचिकृत गरेको छ । हामी आज यो अवस्थासम्म आउनमा तपाइँ पाठबबर्गको ठूलोहात छ । हामीलाई साथ दिनुहुने सबै पाठक वर्ग, विज्ञापनदाता, शुभचिन्तक अनि शुभच्छुक सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

पाठकबृन्द, कोरोना कहरका कारण विगत दुई वर्षदेखि हामीले भव्य रुपमा वार्षिकोत्सव मनाउन पनि पाएका छैनौं । विश्वब्यापी महामारीका कारण हाम्रा सहयोद्धा पत्रकार समेत संक्रमित हुनु भएकै हो । कोरोना अब फेरि नआओस् यो कामना पनि गर्न चाहन्छौं ।

अन्तिममा, हामीले २० औं वार्षिकोत्सव मनाइरहदा वा २१ औं वर्षमा प्रवेश गरिरहदाफेरि हामीलाई सहयोग गर्ने विज्ञापनदातालाई कहिल्यै भुल्न सक्दैनौं । नियमित रुपमा विज्ञापन उपलब्ध गराइ पत्रिकाको प्राण धान्न भूमिका निभाउनु हुने सबै विज्ञापनदाता, नियमित पत्रिका पढेर पत्रिकामा रहेका कमीकमजोरी औंल्याइदिने सचेत पाठक वर्ग, जिल्लाका सबै संचारकर्मीहरु जसले कृपा पत्रिकाका लागि कुनै न कुनै हिसावले योगदान गर्दै आउनु भएको छ अनि पत्रिका प्रकाशनमा स्थापनाकालदेखि होस् या पछिल्लो समयमा साथ दिने सबै कर्मचारी तथा कृपा दैनिकमा आवद्ध सहकर्मीलाई धन्यवाद दिदै आगामी यात्रामा पनि कृपा दैनिक सदैव साथमा रहन चाहन्छ ।

धन्यवाद ।

सबिता चालिसे

प्रकाशक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here