राजन कुमार बानिया
पोखरिया,पर्साको धोबिनी गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा औषधी अभाव हुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् ।
सरकारले स्वास्थ्य संस्थाहरुमा ९८ किसिमका औषधी खरिद गरि निःशुल्क वितरण गर्नु पर्ने मापदण्ड बनाए पनि धोबिनी गाउँपालिकाको वडा नम्बर ४ स्थित लंगडी स्वास्थ्य संस्था लगायत अन्य स्वास्थ्य संस्थाहरुमा औषधी उपलब्ध नहुँदा सेवाग्रहीहरुले सास्ती खेप्नु परेको हो ।
स्वास्थ्य संस्थाहरुको लागि गाउँपालिकाले औषधी किन्न बजेट विनियोजन गरेको छ । तर गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहान र प्रमुख प्रशासकीय अधिकृत प्रमोद साहको स्वार्थका कारण औषधी खरिद नभएको बुझिएको छ ।
स्वास्थ्य संस्थाहरुले अघिल्ला आर्थिक वर्षहरूमा औषधी किन्दै आएकोमा चालु आवमा अध्यक्ष र प्रशासकिय अधिकृतबीच कमिशनमा भागभण्डा नमिल्दा औषधी किन्न नसकिएको नाम उल्लेख नगर्ने सर्तमा एक जना वडा अध्यक्षले बताउनुभयो ।
चालु आवको अन्तिम चरणसम्म औषधी खरिद नभएकाले कागजमा नै औषधीको बिल बनाएर बजेट हिनामिना गर्ने योजनामा अध्यक्ष र कार्यालय प्रमुख रहेको उनको दाबी छ । स्वास्थ्य संस्थाहरुमा विगत ५ महिनादेखि औषधी नहुँदा बिरामीहरु खाली हात फर्कन बाध्य भएका छन् ।नेपाल सरकारले ९८ किसिमका औषधी तोके पनि स्वास्थ्य संस्थाहरुमा भ्याक्सिन, बर्थिंग सेन्टर बाहेक अन्य औषधी उपलब्ध छैन ।
स्वास्थ्य संस्थाहरुमा ग्यास्टिकको समेत औषधी नभएको लंगडी स्वास्थ्य संस्थाका प्रमुख मन्नु पटेलले जानकारी दिनुभयो । स्वास्थ्य संस्था प्रमुख पटेलले औषधी सकिएको सम्बन्धमा लिखित रूपमा माग गर्दा पनि हालसम्म कुनै सुनुवाइ नभएकोमा गुनासो व्यक्त गर्नुभयो ।गर्मीयाममा स्वास्थ्य संस्थाहरुमा बिरामीहरुको चाप बढे पनि रुगाखोकी जरो, झाडापखाला, ग्यास, घाउ, जीवनजल लगायत अत्यावश्यक र आधारभूत औषधी अभाव हुँदा बिरामीहरु रित्तो हात फर्कन बाध्य भएका छन् । .
गाउँपालिका स्वास्थ्य संयोजक संजय यादवले स्वास्थ्य संस्थाहरुबाट औषधी माग भएको सम्बन्धमा पालिकालाई जानकारी गराए पनि खरिद प्रक्रिया अघि बढ्न नसकेको बताउनुभयो । उहाँले स्टोरमा रहेको केही औषधी मात्र वितरण गरिएको जानकारी दिनुभयो । यस सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत साहसँग सम्पर्क गर्न खोज्दा फोनमा सम्पर्क हुनसकेन ।

















