चितवन १४ मंसिर ।
विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर देख्न र सुन्नमा जति सुन्दर छ त्यहां उपचार गर्न आउने बिरामीले पाउने दुःख र सास्ती त्यति नै छ । पर्याप्त भौतिक पूर्वाधार र जनशक्ति हुंदाहुंदै पनि बिरामीले चिकित्सक भेट्न मुस्किल हुने गरेको बिरामीको गुनासो छ । अस्पताल परिसरमै चिकित्सक र कर्मचारीका लागि आवासको व्यवस्था छ । सम्भवतः नेपालमै सरकारी तहमा सबैभन्दा बढी सेवा र सुविधा यहीका चिकित्सक कर्मचारीले पाउंछन् । त्यही आएका बिरामी ल्याएर उपचार गर्ने गरी अधिकांश चिकित्सकको निजी अस्पताल र क्लिनिक छन् । बिरामी र तिनका आफन्त निजीमा जान प्रेरित गर्ने उद्देश्यले अस्पतालमा कम भेट हुने, शल्यक्रियाका लागि लामो समयपछि मात्रै पालो आउने गरेको गुनासो बिरामीको छ ।
चिकित्सकमात्रै होइन, कर्मचारीहरू पनि हाजिर गरेर हिंड्ने गरेको सेवाग्राहीको गुनासो छ । रोल्पाको थवाङबाट उपचारका लागि एक साताअघि चितवन आउनुभएका मालबहादुर डांगी पांच दिनदेखि अस्पतालमा भौंतारिइरहनुभएको छ । उहांले अझै चिकित्सक भेट्न सक्नुभएको छैन ।
विगत एक महिनाअघि परीक्षणका लागि दिएको नमूनाको रिपोर्ट देखाउनका लागि उहां अहिले चिकित्सकको पर्खाइमा हुनुहुन्छ । म·लबार दिउंसो अस्पताल परिसरमा पुग्दा संगै डांगीले अस्पतालको प्रशासनका कर्मचारीलाई गुनासो गर्नुभयो, ‘हाम्रो रिपोर्ट कहिले देखाउन पाउंछौं ।’ अस्पताल प्रशासनका कर्मचारीले जवाफ दिए ‘भोली’ । ‘आज चिकित्सक शल्यक्रियामा व्यस्त हुनुहुन्छ’, ती कर्मचारीले भन्नुभयो । आफ्नो पीडा सहेर डांगी फेरि भोलिको आशामा फर्कनुभयो ।
उपचारका लागि दुई महिनामा तीन पटकसम्म अस्पताल आएको डांगीको भनाइ छ । उहांले भन्नुुभयो ‘चिकित्सक कुरेर बस्नु पर्ने बाध्यता छ ।’ उहांको पेटमा समस्या भएका कारण जांचका लागि आउनु भएको हो । ‘खाएको कुरा केही अडिदैंन । मुखबाटै फर्कन्छ । यस्तो अवस्थामा चिकित्सक कुर्नु परेको छ ।’ उहांले भन्नुुभयो ।
यस्तै पीडा पाल्पाबाट आउनुभएकी भिमकुमारी थापाको पनि छ । उहां रेडियो थेरापीका लागि आउनुभएको हो । ‘आज पालो भनेर आएको, पाइने नपाइने थाहा छैन ।’ उहांले भन्नुभयो । अस्पताल आएका बिरामी र उनका आफन्त चिकित्सकको खोजी र उपचारका लागि दिइएको समयको पर्खाइमा बस्दै गरेका छन् । तनहुंको दुलेगौडाबाट उपचारका लागि आउनुभएकी इन्द्रकला लम्साल बहिर· विभागमा आएर चिकित्सक कुर्दै हुनुहुन्थ्यो । उहांले भन्नुभयो, ‘चिकित्सक आउनुहुन्छ भन्नुभएको छ । कति खेर भेट्न पाइन्छ पत्तो छैन ।’
नियमित जांचका क्रममा आउनुभएकी लम्साल विगत एक सातादेखि क्यान्सर अस्पतामा हुनुहुन्छ । उहांले विभिन्न किसिमको परीक्षणका लागि दिएको नमूनाको रिपोर्ट देखाउंदै भन्नुभयो, ‘अब यो देखाएर त घर जान पाइन्छ कि भन्ने आश छ, तर डाक्टर भेट्न पाइन्छ, पाइंदैन निश्चित छैन ।’ चिकित्सक नभेटिएपछि त्यहां भेटिएका सहयोगीले चिकित्सक भेट्ने वैकल्पिक उपायस्वरुप निजी अस्पताल देखाउने गरेको बिरामीका आफन्तको गुनासो छ । यी उदाहरणीय पात्र हुन् । अस्पतालमा आएका बिरामीले विशेषज्ञ चिकित्सकसमेत भेट्न कठिन हुने गरेको छ । चिकित्सक भेट्नका लागि वहिर· विभागमा आएका बिरामीलाई त्यहांका कर्मचारीको छुद्र बोलीका कारण पीडित हुने गरेको गुनासो गर्छन् । विशेषज्ञ चिकित्सक हाजिर गरेर आफ्नो बहिर· सेवामा नबस्ने गरेको उनीहरूको गुनासो छ । उनीहरू हाजिर गरेर न बहिर· सेवामा हुन्छन् न त शल्यक्रियाकक्षमा नै हुन्छन् । एनेस्थेसिया र सर्जनका कारण बिरामीले लामो समय शल्यक्रियाको पालो कुर्नुपरेको बिरामी बताउंछन् । एनेस्थेसियाले दिउंसो १ बजेपछि काम नगर्दा समस्या बढ्दै गएको अस्पताल प्रशासन स्रोतले जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम आफूले चिकित्सक कर्मचारीले काम गरिरहेको मान्यता राख्ने बताउनुभयो । गुनासोको विषयमा आफूले बुझ्ने भन्दै उहां कार्यालय समयमा काम नगर्ने चिकित्सक कर्मचारीलाई कारबाही गरिने बताउनुहुन्छ । अस्पतालमा हाल एक सय जना विशेषज्ञ चिकित्सक कार्यरत छन् । विगत केही वर्षअघि अस्पताल खस्केर अस्तव्यस्त भएपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं हालका गृहसचिव विनोदप्रकाश सिंहको नेतृत्वमा अस्पताल सुधार्ने अभियान थालिएको थियो । त्यसको प्रभाव केही वर्ष परेको अस्पतालका कर्मचारी बताउंछन् । पछिल्लो समय पुनः अस्पताल अस्तव्यस्त बनेको छ ।
















