नरेश गुप्ता
बरियारपुर,बाराको देवताल गाउँपालिकाको आठौं गाउँसभा बुधबार सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष ०७९÷०८० को नीति, कार्यक्रम तथा ३५ करोड १४ लाख २५ हजारको बजेट सार्वजनिक गरिएको छ ।
देवताल गाउँपालिकाले आर्थिक वर्ष ०७९÷०८० मा गाउँपालिकाको आन्तरिक आम्दानीतर्फ १ करोड पचास लाख, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ १० करोड ६४ लाख, प्रदेश सरकारबाट वित्तीय समानीकरणतर्फ ७३ लाख ७२ हजार, सशर्त अनुदान संघीय सरकारको ११ करोड बाउन्न लाख र संघीय सरकारबाट राजश्व बाँडफाँडबाट प्राप्त हुने ७ करोड १४ लाख ५३ हजारलगायत गरि कुल ३५ करोड १४ लाख २५ हजार रुपैयाको बजेट सार्वजनिक गरिएको हो ।
देवताल गाउँपालिकाका अध्यक्ष उदयचन्द यादवले आर्थिक वर्ष ०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पारित नीति तथा कार्यक्रम र बजेटको लक्ष्य संवृद्ध गाउँपालिका, खुशी गाउँबांसीको नारालाई मध्यनजर गर्दै सोही अनुरुपको बजेट बिनियोजन गरिने बताउनुभयो ।
संवृद्ध देवताल गाउँपालिकाको आधार खडा गर्न कृषि, शिक्षा र सामाजिक क्षेत्रको विकास, भौतिक पूर्वाधार निर्माण, जनतालाई व्यवस्थापन र सुशासनको अनुभुति हुने गरी कार्यक्रम र सेवा संचालन गरिने बताउनुभयो । उहाँले कृषि क्षेत्रतर्फ गाउँपालिकाभित्रको कृषि योग्य जमिनको पहिचान र संरक्षण गर्दै गाउँपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन समुदाय, प्रदेश र संघीय सरकारसंग समन्वय गरि आवश्यक रणनीति बनाएर कृषि क्षेत्रमा विकास गरिने बताउनु भयो ।
एकघर एक करेसाबारी कार्यक्रम संचालनमा जोड दिइने उहाँले बताउनुभयो । आर्थिक वर्ष ०७९÷०८० मा स्थानीय तहमा स्थापित सहकारी, संघसंस्था, उद्योग, पर्यटन, समाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य, खानेपानी, युवा तथा खेलकुदको विकासको लागि बजेट बिनियोजन गर्ने अध्यक्ष यादवले बताउनुभयो ।
गाउँपालिकाको आठौं गाउँसभामा उपाध्यक्ष सियापती देबी, वडा अध्यक्ष, वडा सद्स्य लगायत संचारकर्मीहरुको पनि सहभागिता रहेको थियो । प्रमुख प्रशासकीय अधिकृत वकिल पालले स्वागत मन्तव्य दिनुभएको सो सभाको संचालन योजना तथा प्रशासन शाखा प्रमुख राजिव यादवले गर्नुभएको थियो ।