राजन कुमार बानिया
पोखरिया,पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा जनमत पार्टीलाई ठूलो धक्का लागेको छ । जगरनाथपुर गाउँपालिकाका अध्यक्ष बृजेश चौधरीसहित सयौँको सङ्ख्यामा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।पर्सा– ४ अन्तर्गत आयोजित पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरूलाई रास्वपाका क्षेत्रीय सभापति जितेन्द्र मिश्र र रास्वपाबाट पर्सा– ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार टेकबहादुर शाक्यले खादा र फूलमाला लगाएर औपचारिक रूपमा पार्टीमा स्वागत गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जगरनाथपुर गाउँपालिकाका अध्यक्ष बृजेश चौधरीले रास्वपामार्फत मात्र वास्तविक परिवर्तन सम्भव हुने धारणा व्यक्त गर्नुभयो । उहाँले जनमत पार्टीले मधेसी समुदायलाई निरन्तर रूपमा ठगेको र मधेसी जनताको मतलाई सत्ता पुग्ने भ¥याङका रूपमा प्रयोग गरेको आरोप लगाउनुभयो ।“हामीले विश्वास र समर्थन दिएको दलले जनताको अपेक्षा पूरा गर्न सकेनन । अब परिवर्तनको बाटो रास्वपाबाटै सम्भव छ भन्ने निष्कर्षमा पुगेका छौँ,” चौधरीले भन्नुभयो ।
रास्वपाका पर्सा– ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार टेकबहादुर शाक्यले पार्टी प्रवेश कार्यक्रमलाई जनआकाक्षाको प्रतिबिम्बको रूपमा व्याख्या गर्नुभयो । “आज देखिएको यो सहभागिता जनताले वैकल्पिक, जिम्मेवार र पारदर्शी राजनीति खोजिरहेको स्पष्ट संकेत हो,” उहाँले भन्नुभयोे, “रास्वपा विकास, सुशासन र पारदर्शितालाई केन्द्रमा राखेर अघि बढेको छ । पर्सा–४ को समग्र विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधारका लागि हामी प्रतिबद्ध छौँ ।”
त्यसैगरी, रास्वपाका क्षेत्रीय सभापति जितेन्द्र मिश्रले पार्टीको संगठन विस्तारसँगै जनआधार मजबुत बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले नवप्रवेशीहरूलाई पार्टीको नीति र सिद्धान्तअनुसार सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै भन्नुभयो, “आजको यो प्रवेश कार्यक्रम रास्वपाप्रति जनताको बढ्दो भरोसाको प्रमाण हो । भ्रष्टाचारविरुद्ध, सुशासन र समान विकासका पक्षमा हामी सबै एकजुट भएर अघि बढ्न आवश्यक छ ।”कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले रास्वपाको नीति, नेतृत्व र आगामी कार्ययोजनाप्रति विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए ।
















