दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको पचरौता नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिव नरेन्द्र परियार हाजिर हुनुभएको छ । आइतवार नगरपालिकाको सभा हल बेनैलीमा भएको कार्यक्रममा नगर प्रमुख जलन्धर सिंहले प्रमुख प्रशासकीय अधिकृत परियारको स्वागत गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत परियारले आइतवार नै पदभार ग्रहण गरेर कार्यालयको कामकाज शुरु गर्नुभएको छ ।
परियार यसअगाडि गृह मन्त्रालयमा उपसचिव पदमा कार्यरत हुनुहुन्थ्यो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेपछि परियार पचरौता आउनुभएको हो ।
नगरपालिका प्रमुख जलन्धर सिंहले नयाँ प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव स्तरको कर्मचारी पाएकोमा खुःसी लागेको बताउँदै आगामी दिनमा नगरपालिकाको सेवा प्रवाहामा सुधार आउने विश्वास समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा पचरौता नगरपालिकाकी नगर उपप्रमुख नसीमा खातुन, नगर कार्यपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी यादव, वडा नम्बर ३ का वडा अध्यक्ष धेनुक राउत कुर्मी, ४ का कार्यवाहक वडा अध्यक्ष अखिलेश यादव, ६ का वडा अध्यक्ष मकबूल मियाँ अंसारी, ७ का वडा अध्यक्ष बनारसी बिन, ८ का वडा अध्यक्ष प्रेम चौधरी, ९ का वडा अध्यक्ष गगनदेव यादव, वडा सदस्यहरु तथा पचरौता नगरपालिकाका शाखा प्रमुख, कर्मचारीहरुले परियारको अबिर, फुलमाला एवमं दोसल्ला ओढाएर स्वागत गरेका थिए ।नगर प्रमुख सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख खातुन र नगर कार्यपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष लक्ष्मी यादवले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख सुरेन्द्रप्रसाद साहले गर्नुभएको थियो ।


















